सियारी, २३ कार्तिक । नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावली नजिकिँदै गर्दा बुटवल उपमहानगरपालिकाले कडा निर्देशन जारी गरेको छ । बुटवल उपमहानगरपालिकाको २२ गते सम्पन्न कार्यपालिकाको बैठकले तिहारमा खेल्ने देउँसी भैलोमा एक हजार एक सय भन्दा बढी दिन र लिन नपाउने निर्णय गरेको हो । यसैगरी तिहारमा मालाको लागि आवश्यक हुने फुलहरु समेत स्थानीय उत्पादन प्रयोग गर्न आह्वान गरेको छ ।
बुटवल उपमहानगरपालिकाको यो निर्णयलाई सबैले सकारात्मकरुपमा लिएका छन् । रातको दस बजेपछि देउँसी भैलो खेल्नसमेत निषेध गरिएको उपमहानगरपालिकाले जनाएको छ । कार्यपालिकाको विहीबार सम्पन्न बैठकले मौलिक रीति, परम्परा र संस्कृतिलाई प्रोत्साहन गर्न र नागरिकको सुरक्षाको ख्याल गर्दै नगरबासीमा विशेष आह्वान गरेको छ । त्यसैगरी ठूलो आवाजमा साउण्ड सिस्टम प्रयोग नगर्न अनुरोध गर्दै जुवा, तास, कौडी, सट्टेबाजी, झण्डाबुर्जा लगायतका खेल खेल्न र खेलाउन निषेध गरेको छ ।