भैरहवा, १७ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा डोजर लगाएको छ । रोहिणी गाउँपालिका–२ मैनिहवास्थित ए.एस.पी. स्क्रेप सप्लायर्स नामक कवाडी संकलन गर्ने व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकोले व्यवसाय सञ्चालनमा रोक लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए ।
शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाइएको यादवले बताए ।
पटकपटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि वेवास्ता गरेपछि गोदामको गेट तथा पर्खाल भत्काइएको उनले बताए ।
