भैरहवा, पुष २ । खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामाले बताउनु भएको छ । जापान गोजुरियो कराते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले भैरहवामा आयोजनामा गरेको कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका लामाले भन्नुभयो, ‘अब खेलाडीले मेडल जित्ने, पदक जित्ने काममा मात्रै होइन, समाज र राष्ट्रको प्रगतिमा पनि अन्य निकायसँग हातेमालो गरेर अगाडी बढ्नुपर्छ ।’ लामाले आफू राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भइसकेको व्यक्ति कराते खेलकुदको सम्वद्र्धन र एकतावद्ध विकासको लागि विशेष निर्णय लिई कराते महासंघको अध्यक्षको जिम्मेवारी लिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले धेरै सोचीबिचारी सदस्य सचिव भइसकेको व्यक्ति, फेरी त्यहि राखेपको अंगकोरुपमा रहेको कराते महासंघको अध्यक्ष बन्ने प्रस्ताव स्वीकारेको हो । एक किसिमले भन्दा म र दाबा घटुवा भएर भए पनि कराते खेलकुदको विकास र एकतावद्धताको लागि यो विशेष निर्णय गरेका हौं ।’
लामा कराते महासंघको अध्यक्ष र यसअघि महासंघको अध्यक्ष भएका दाबा लामा महासचिव भई यति बेला कराते महासंघलाई चलायमान गराइरहेका छन् ।
अध्यक्ष लामाले नेपालका सबै कराते खेलकुदको विकासको लागि एकिकृत योजनाको साथ काम गर्नेसमेत बताउनु भएको छ । लामाले निकट भविष्ययमा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराते सेमिनार गर्ने गरी सोँच बनाएकोसमेत बताउनु भयो । अध्यक्ष लामाको सम्मानमा जापान गोजुरियो कराते डो. मिसन संघ नेपाल केन्द्रीय समितीले भैरहवामा आयोजना गरेको कार्यक्रममा जापान गोजुरियोका संस्थापक अध्यक्ष काजि रानाले करातेको संस्थागत विकासको लागि लामाको योगदान अतुलनीय रहने बताउनु भयो ।
कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सी.ले नेपालका कारातेका खेलाडीहरुको उत्थान र संरक्षणको लागि नेपाल कराते महासंघले विशेष योजना ल्याएमा प्रभावकारी हुने बताउनु भयो । उहाँले बुद्ध र करातेको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै लुम्बिनीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरेमा त्यसले संसार भरी शान्तिको सन्देश प्रवाह गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका प्रदेश सदस्य उमाशंकर खड्काले राखेपका पूर्व सदस्य सचिव लामाको पालामा खेलकुद क्षेत्रको देखिने गरी विकास भएको स्मरण गर्दै कराते महासंघको अध्यक्ष भइरहँदा सबै करातेका खेलाडीले धेरै सपना देखेको बताउनुभयो । जापान गोजुरियो कराते डो. मिसन संघ नेपाल केन्द्रीय सचिव गिरी पुनले कराते खेलकुदप्रति पछिल्लो पुस्ताको आकर्षण बढ्दै गएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।