logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित


    २ माघ २०८० , मंगलबार

    तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

    भैरहवा, माघ २ । दुई ओपनर र मध्यक्रमका एकसहित तीन खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको छ । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने कर्णालीको यो पहिलो हार हो ।
    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रनको बलियो योगफल बनाएको थियो । उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए ।

    सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए । उनीहरुले प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान समेत कायम गरे । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान बनाएका थिए ।

    यस्तै, सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक पारी खेले । किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दा जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको कर्णाली ३७ दशमलब २ ओभरमा अलआउट हुँदै १ सय ४३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्ने सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । यस्तै, विकाश आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए । कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.