logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार


    ३ माघ २०८० , बुधबार

    प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार

    भैरहवा, माघ ३ । लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेकोे छ । तीन खेल खेलेको कर्णालीले २ मा जित र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा हार ब्यहोर्दा एकमा जित निकालेको छ ।

    बुधबार रुपन्देहीको भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले मौसमका कारण छोट्याइएको निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको मध्यमस्तरको योगफल बनाएको थियो ।

    कर्णालीका लागि अलराउन्डर दिनेश अधिकारीले ५९ बलमा अविजित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, कर्णालीका लागि दीपेन्द्र रावतले ४७, हिमान्शु शाहीले २५ र ओपनर रवीन्द्र शाहीले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । जितका लागि उनीहरुको योगदान पर्याप्त भयो । बलिङमा लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३–३ विकेट लिँदा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए ।

    १ सय ८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनी प्रदेश ४१ ओभर दुई बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न ६ ओभर बलिङ गरेका कर्णालीका दिनेश अधिकारीले १ मेर्डन राखेर १८ रन खर्चंदै ३ विकेट लिए । यस्तै, अनुज चनारा र दीपेन्द्र रावतले समान २–२ तथा दिवान पुनले १ विकेट लिए ।
    लुम्बिनीका लागि ७७ बलको सामना गरेका कृष्ण कार्कीले ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए । यस्तै, मिर्नाल गुरुङले २२ रन बनाउँदा मोहम्मद हुसेन र निर्मल गुरुङले समान १० रन जोडे । कप्तान सुशान्त थापा १ रनमै पेभेलियन फर्किए ।

    सुरुका ब्याट्सम्यानले नै दोहोरो रन बटुल्न नसक्दा लुम्बिनी घरेलु मैदानमा नै हार व्यहोर्न पुग्यो । खेलमा कर्णालीका दिनेश अधिकारी प्लेयर अफ द म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.