- ठाकुर कुमार श्रेष्ठ
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशनगरी सिद्धार्थनगरमा वि.स. २०११ असोज १ गते स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ निजी क्षेत्रको साँझा संस्था हो । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको यो संघले अर्थतन्त्रको विकास, पुँजी निर्माण र अर्थपूर्ण योगदान सुनिश्चिताका लागि महत्वपूर्ण भूमिका खेलेको छ । राष्ट्रिय अर्थतन्त्र सबल बनाउनका लागि संघले निजीक्षेत्रलाई औद्योगिक उत्पादनका लागि सधैँ प्रोत्साहन, सहयोग र सहकार्य गर्दै आएको छ । साना तथा घरेलु उद्योग र लघु उद्यमको माध्यमबाट ग्रामीण क्षेत्रमा स्वरोजगार बन्दै रोजगारका अवसरहरु सृजना गर्दै बजारिकरणमा सिद्धार्थ उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएको छ । जिल्लामा रहेको ठूला तथा मझौंला उद्योगको संरक्षण तथा सञ्चालनमा संघले सदैब सहकार्य र सहयोग गर्ने गरेको छ । नेपालको ठूलो औद्योगिक कोरीडोर भएको भैरहवामा निजीक्षेत्रलाई लगानीमैत्री वातावरण सृजना गर्दै प्रतिस्पर्धात्मक व्यापारिकरणको अभिवृद्धि गर्नमा संघको भूमिका रहने गरेको छ । नेपाल–भारत सीमा जोडिएको यो क्षेत्रको संवेदनशिलतालाई मध्यनगर गरेर व्यवसायीको संरक्षणमा संघ सधैँ लाग्दछ । देशको अर्थतन्त्रमा सहयोग पुराउने उद्योगी व्यापारीको संरक्षण तथा कालो बजारी, तस्कर र बजारमा एकाधिकार कायम राख्दै बस्तु वा सेवामा कृत्रिम अभाव सृजना गर्नेहरुलाई सरकारी समयन्त्रको सहकार्यमा नियन्त्रण गर्ने कार्यमा पनि सिद्धार्थ उद्योग वाणिज्य संघले भूमिका खेल्ने गर्दछ । वस्तु वा सेवाको आपूर्ति मूल्य र गुणस्तरको प्रभावकारितामा सरकारी निकायलाई सल्लाह सुझाव दिने कार्य संघले निरन्तर रुपमा गरेको छ ।
नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र(सेज) लुम्बिनी, देवदह, बुद्धकालिन रोहिणी सभ्यता, भैरहवा–बुटवल, भैरहवा–परासी र भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर जस्ता व्यापारिक संगमस्थल रहेको भैरहवा नेपालको अर्थतन्त्रको आधारस्तम्भ हो । यहाँ स्वदेशी तथा विदेशी लगानी भएका अर्बौका उद्योगहरु सञ्चालनमा रहेका छन् । यसको संरक्षणका लागि सरकार, राजनीतिक दल, स्थानीय वासिन्दा संग सिद्धार्थ उद्योग वाणिज्य संघले सधै सहकार्य गर्ने गरिरहेको छ । दिगो औद्योगिक आधारशिला तयार गरी निर्यात व्यापार वृद्धिको माध्यामबाट देशको आर्थिकवृद्धिमा यस क्षेत्रले योगदान बढाउने उद्धेश्यले संघका सदस्यहरुको उत्पादन गरेका सेवा वा वस्तुहरु निर्यातमा सहजीकरण गर्नेकार्यमा सधै क्रियाशिल छ ।
विश्व व्यापार संगठन (डब्लुटिओ) मा नेपालको सदस्यता, दक्षिण एसियाली स्वतन्त्र व्यापार (साफ्टा) क्षेत्रमा प्रवेश र स्वतन्त्र व्यापार प्रणालीमा (बिमेस्टेक) आबद्ध भएपछि नेपालको बहुपक्षीय तथा क्षेत्रीय व्यापार प्रणालीबाट अन्तराष्ट्रिय बजार सम्म आफ्ना सदस्यहरुले उत्पादन गरेका बस्तुहरु पुराउनमा सिद्धार्थ उद्योग वाणिज्य संघ सधै क्रियाशिल रहने गरेको छ । अर्थनिती, योजना तथा कार्यान्वयनमा सरकारलाई सल्लाह सुझाव दिने र अन्तराष्ट्रिय व्यापारिक संघ संस्था संग सहकार्य गरि यहाँको व्यापारिकणलाई चलायमान गर्ने काम संघले गरिरहेको छ । उद्योग तथा औद्योगिक लगानीको संरक्षण तथा प्रवद्र्धन गर्दै विभिन्न निकाय संग छलफल तथा अन्तरक्रिया गर्ने काम सिद्धार्थ उद्योग वाणिज्य संघले निरन्तर गर्ने गर्दछ ।
मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन नीजिक्षेत्रलाई जिम्मेवार बनाउने कार्यमा निरन्तर लागिरहेको यो संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा विशश पहल गरिरहेको छ ।
विश्व बजारमा देखिएको आर्थिक मन्दीका कारण नेपाल पनि उच्च जोखिमको अवस्थामा रहेकाले देशको अर्थतन्त्र उकास्ने कार्यमा निजीक्षेत्रलाई जिम्मवार बनाउने कार्यमा सिद्धार्थ उद्योग वाणिज्य संघ क्रियासिल भएको छ ।
बैंकिङ ब्याजले व्यवसायी मारमा
विश्व बजारमा देखिएको अर्थतन्त्रको सुस्तताले नेपाललाई पनि छोएको छ । जसले गर्दा यहाँका उद्योग व्यवसायीहरु आंशिक रुपमा सञ्चालनमा आएका छन् । धेरै रोजगारदाता उद्योगहरु आंशिक अवस्थामा चल्न सुरु भएपछि कामदारहरुलाई आर्थिक अवस्था कमजोर भएको देखाउदै निकाल्ने क्रमपनि सुरु भएको छ । यो हुनुमा उद्योग धरासायी बनाउने बैंकिङ नीति हो । बैंकहरुले लगानी गर्दा ७ प्रतिशत ब्याजदरमा गरेको ऋण १५ प्रतिशतसम्म स्वच्छिकरुपमा बढाउदा यहाँका उद्योग कलकारखाना सञ्चालकहरुलाई ठूलो आर्थिक मार परेको छ । खराब अर्थतन्त्र भएको अवस्थामा बैंकको व्याजदर समेत बढाएर व्यापारीलाई ढाड सेक्नेकाम गर्नेमा राष्ट्रबैंकको पनि भुमिका देखिन्छ । सिद्धार्थ उद्योग वाणिज्य संघले दुई वर्ष अधिदेखि एकल अंकमा व्याजदर झार्न अनुरोध गर्दै आएको छ । हाल एक अंगमा झरेको पनि छ । तर व्यवसायीहरु समस्यामा छन् ।
राज्यले बाध्यतामा समस्यामा परेका व्यवसायीहरुको व्याजमा अनुदान दिनुपर्दछ । नत्र देशमा निजीक्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कठिन अवस्था आउन सक्ने देखिन्छ । त्यस कारण यहाँका उद्योग कलकारखाना बन्द हुदा युवाहरु बिदेश पलायन हुने दरपनि बढ्दो छ । ३२ लाख बन्दा धेरै नेपाली योग्य युवाशक्ती बिदेश पलायन भएको छ । दैनिक २५ सय भन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हँुदै बाहिरिने गरेको तथ्याङ्कले देखाएको छ । रोजगारका लागि भारत जानेहरुको लगत छैन । त्यस कारण उद्योगी व्यवसायीहरुलाई व्याजमा अनुदानको व्यवस्था गरेर अर्थतन्त्रलाई चलायमान बनाउने मार्ग राज्यले तयार गर्न जरुरी छ । राज्यले रेमिट्यान्स देखाएर अर्थतन्त्रलाई सबल भएको व्याख्या गर्ने गरेको छ । यो दिगो अर्थनीतिमा समस्या सृजना गर्ने लय हो । त्यस कारण रेमिट्यान्स भित्राउन भन्दा देशका युवाहरुलाई देशभित्रनै रोजगार सृजना गरेर देशको उत्पादन विदेश पठाउन तर्फ नेपाल लाग्न सिद्धार्थ उद्योग वाणिज्य संघले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई सुझाव दिने गरेको छ ।
बिकास बजेटको खर्चमा कमी
नेपालमा पछिल्लो समय पूँजीगत खर्चमा कमि आएको छ । यहाँ राष्ट्रिय गौरवका आयोजनाहरु ठेक्का लाग्ने र तोडिने क्रम बढ्दो छ । राज्यको ढुकुटीमा भएको रकम खर्च नहुँदा आर्थिक अभाव बजारमा देखिएको छ । भौतिक पूर्वाधारक्षेत्रमा राज्यले बजेट बिनियोजन गरेपनि खर्चका कमजोरीपन देखिएको छ । बिकासको खर्च कम हँुदा राज्यको बजेट बजारमा आइपुग्न सकेको छैन ।
सुशासनमा कमी
नेपालमा सरकारले सँधै सुशासनका कुरा गर्ने गरेपनि कार्यन्वयनमा अभाव देखिएको छ । यहाँ स्टनको राजनीति बढी र व्यवहारमा गर्नुपर्ने कामहरुमा निकै कमी आएको छ । कामगर्ने राजनीति नेतृत्वनै प्रचारमुखी हुँदा सुशासनको अभाव देखिएको हो । जसले गर्दा विकास निर्माण र कानुन कार्यन्वयनमा समस्या देखिएको छ । हिजो भैरहवाबाट गोरखपुर जादा ९० किलोमिटर सडक ४ घण्टाको मोटरयात्रा गर्नु पर्दथ्यो भने अहिले १ घण्टामा पुगिन्छ तर भैरहवा नारायणघाटको १०५ किलोमिटर सडक हिजो २ घण्टा लाग्नेमा अहिले ५ घण्टा लाग्ने गर्नु देशको बिकास र सुशासन ओरालो लाग्नु हो ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा राज्य उदासिन
देशमा लाईफ लाईनको सुरुवात गर्ने अपेक्षा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल शिलान्यास र उद्घाटन भएपनि अपेक्षाकृतरुपमा सञ्चालन हुन सकेको छ्रैन । बिमानस्थलमा निर्माण कार्यमा करिब ३५ अर्ब रुपैया भन्दा बढी खर्च भएपनि पूर्ण सञ्चालनमा सरकारको उदासिनताले यो क्षेत्रमा लगानी गरेको नीजि क्षेत्रका उद्योगी व्यवसायीहरु निरास बनेका छन् । जसले गर्दा लुम्बिनी सिधै आउन चाहाने करोडौँ बौद्धमार्गी पर्यटकहरुलाई यहाँका पर्यटन व्यवसायीहरुले ल्याउन सकेका छैनन् । एशियाली बिकास बैंकको रिर्ण सहयोग र राज्यको ठुलो लगानी रहेको यो पूर्वधार पूर्ण सञ्चालन नहुदै डुब्ने अवस्था आएको छ । बिमानस्थल सञ्चालन हुने अपेक्षा सहित अर्बौको लगानी गरेका धेरै पर्यटन व्यवसायीहरु समेत अहिले टाट पल्टिने अवस्थामा पुगेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले यो बिमानस्थल पूर्ण सञ्चालनका लागि सरकार तथा राज्यका विभिन्न निकाय संग छलफल तथा अन्तरक्रिया र दवाव सृजना गर्ने काम गरिरहेको छ । पछिल्लो पटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपनि काठमान्डौँ बाट भैरहवा हुँदै मलेसिया सम्मको साप्ताहिक उडान नेपाल एयरलायन्सले गरेको छ । तर यहाँ दैनिक दर्जन बढी अन्तर्राष्ट्रिय उडान हुन जरुरी छ । यस तर्फ सरकारको ध्यान जानु पर्दछ । नियमित उडान नहुँदा यसक्षेत्रको व्यापार धरासायी हुने अवस्था रहेकाले देशको अर्थतन्त्रमामा थप समस्यापर्न सक्ने देखिन्छ ।
लुम्बिनीको प्रचारप्रसारमा कमी
विश्वको ध्यान आकृष्ट गरिरहेको महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारको हुन सकेको छैन । लुम्बिनीमात्र होईन बौद्धधर्मालम्बीहरुको आस्थाभएका रोहिणी, देवदह, रामग्राम, तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, सगरहवा जस्ता बुद्धस्थलहरुको विश्वबजारमा प्रचारप्रसार गर्न नसक्दा पर्यटकहरुलाई आर्कषर्ण गर्न सकिएको छैन । भारतले भर्खर मात्र राम मन्दिरका दर्शन गर्न खुल्ला गरेसंगै त्यहाका स्थानीय घरहरुलाई होटलमा परिणत गरेर पर्यटनमा उभार ल्याएको छ । तर नेपालमा लुम्बिनी जस्तो पवित्र स्थलमा बनेका पर्यटकीय होटलहरु समेत सधै खाली रहेका छन् । त्यस कारण लुम्बिनीको प्रचारप्रसार गरि बुद्ध सर्किट निर्माण गर्न सिद्धार्थ उद्योग वाणिज्य संघले आवाज उठादै आएको छ ।
रेलवे कनेक्टिभिटी बिनाको आईसीपीको निर्माण
भैरहवा भन्सार कार्यालयमा बन्दै गरेको एकीकृत भन्सार जाँच चौकी –आईसीपी निर्माण कार्य दु्रतगतीमा अगाडी बढेको छ । यसक्षेत्रको व्यापार सहजीकरणमा यसको निर्माण अनिवार्य छ । तर यहाँ निर्माण हुँदै गरेको आईसीपी केवल कन्टेनर मात्र प्रवश गर्ने मार्गलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएकाले व्यवसायीहरुले अपेक्षागरे अनुसार नबन्ने देखिएको छ । यो आईसीपीमा रेलवे कनेक्टिभिटीको अति जरुरी देखिन्छ । राज्यले त्यस तर्फ ध्यान दिन अनुरोध गर्दछौँ । सिद्धार्थ उद्योग वाणिज्य संघले अर्थमन्त्री र प्रधानमन्त्रीलाई यस विषयमा जानकारी समेत गराई सकेको छ ।
सेज सञ्चालनमा कठिनाई
नेपालको पहिलो विशेष आर्थिक क्षेत्र सेजको पूर्ण सञ्चालन नहुँदा यहाँका उद्योग व्यवसायीहरुले अपेक्षा गरेअनुरुप नेपाली उत्पादन बिदेशमा निर्यात गर्न सकेका छैनन् । सेज सञ्चालन गर्न प्रचारबाजी गरिपनि व्यवसायीहरुले बस्तु उत्पादन गर्ने अर्थनीति राज्यले निर्माण नगर्दा समस्या देखिएको छ । सेज सञ्चालनका लागि कानुन, ऐन, विनियमको कठिनाईले गर्दा व्यापारीहरुको प्रतिकुलमा छ । त्यस कारण सेज सञ्चालन हुन सकेको छैन । यसका लागि राज्यले छिटो भन्दा छिटो व्यवसायीको अनुकुलहुने प्रकारले सेज नीजि निर्माण गर्नु पर्दछ । जसले गर्दा सेजमा उत्पादन बढ्दो हुनेछ ।
भन्सारमा कडाई
सिद्धार्थ उद्योग वाणिज्य संघको पहलमा भैरहवा भन्सार कार्यालयले रु. सय भन्दा बढीको सामानको भन्सार महशुल लिने गरेको छ । यो अभियान भैरहवाबाट सुरु गरेसँगै नेपालका अधिकाशं भन्सार कार्यालयले लागु गरेका छन् । यसलाई निरन्तरता दिन जरुरी छ ।
अन्त्यमा
अब भैरहवा नेपालको मूख्य आर्थिक केन्द्रबिन्दु बन्ने चरणमा छ । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, भैरहवा भन्सार कार्यालय, सेज यहाँ छन् । नेपालमा ठूला औद्योगिक कोरिडोर समेत यहाँ रहेको छ । व्यापार व्यवसायी गर्न सुरक्षित, सहज सडक र हवाई मार्गको सुविधा भएको यो क्षेत्र अबको केही वर्षमा संसारका उत्कृष्ट औद्योगिक सहर मध्य एक बन्ने देखिएको छ । नेपाल भूपरिवेष्ठित देश हो । अन्य मूलुकमा जस्तो अन्तर्राष्ट्रिय व्यापार गर्नलाई सहज छैन । तर भूपरिवेष्ठित देशले पाउने सुविधा नेपालले पाउने गरेको छ ।
लेखक सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।