रुपन्देही बुद्धको जन्मस्थल भएको जिल्ला हो । यहाँ बुद्ध जन्मस्थलको साथसाथै बुद्धले शान्ति स्थापना गरेको स्थल रोहिणी छ । यसलाई चिन्नका लागि यहाँका पर्यटन व्यवसायीहरुले खोज अनुसन्धान गर्नमा ध्यान दिनु पर्दछ । शान्तिका अग्रदुत गौतमबुद्धको रोशन संसारभर पुगेपनि शान्ति स्थापना गरेको स्थल रोहिणी ओझेलमा परेको छ । नेपाल बुद्ध पर्यटनको प्रचुर सम्भावना भएको देश हो । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर पनि हो । यहाँ लुम्बिनी संगै बुद्धको राजदरवार तिलौराकोट, मावली देवदह र अस्तुधातु राखेको स्थल रामग्राम प्रचारमा छन् । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि यी क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको पाईन्छ । बुद्ध पर्यटन संसारभर रहेको बुद्ध धर्मालम्बीहरुका साथसाथै अन्य धर्म मान्नेहरुको समेत आकर्षण बनेको छ । नेपालमा लुम्बिनी, रामग्राम, देवदह र तिलौराकोट बाहेक पनि अन्य बुद्धस्थलहरु भेटिएका छन् । यी स्थलपनि बुद्ध दर्शनका लागि महत्वपुर्ण क्षेत्र हुन । यसका लागि प्रचारप्रसार र विकास हुन आवश्यक देखिन्छ । नेपाल प्राचिन समयदेखि नै बौद्धधर्म, शिक्षा, संस्कृति र सभ्यताको केन्द्र हो । बौद्धमार्गीको पवित्र एवं प्रसिद्ध ऐतिहासिक तीर्थस्थलहरुका कारण नेपाल शान्ति र अहिंसाको पवित्रभुमि भएको देश पनि हो । शाक्यमुनी बुद्धको जन्मले नेपाललाई संसार माँझ पुराएपनि कपिलवस्तुको गोटिहवामा जन्मलिनुभएका क्रकुच्छंद बुद्धको स्थल पनि महत्वपर्ण क्षेत्र हो । क्रकुच्छंद बुद्धका साथै निग्लिहवामा जन्मनुभएका कनकमुणि बुद्धस्थल पनि प्रचार प्रसारको अभावमा देखिन्छ । लुम्बिनीको प्रचारप्रसार विकासका साथै समृद्धिको यात्रा तय भएपनि कपिलवस्तु क्षेत्रमा रहेका बुद्धस्थलहरुको विकास र विस्तारमा राज्यले महत्वपुर्ण भुमिका खेल्न सकेको छैन । कपिलवस्तु, रुपन्देही र नवलपरासी बुद्धस्थलहरु भएका जिल्ला हुन तर संरक्षणको अभावमा कति लोप तथा नासिएर हराए भने कतिले संरक्षण पाएका छैनन् । राज्यको कमजोर शक्तिका कारण कति बुद्ध सम्पदाहरु चोरिनुका साथै हराएका छन् । पछिल्लो समय बुद्धले शान्ति कायम गरेको क्षेत्र रोहिणी नदिको खोजी तीब्र रुपमा हुने गरेको छ । यो क्षेत्रको विकास र विस्तारमा महत्वपुर्ण भुमिका रोहिणी गाउँपालिकाले खेलेपनि राज्य तह बेखवर जस्तै बनेको छ । नेपालको महत्वपुर्ण क्षेत्रको रुपमा रहेको रोहिणीलाई संसारमाँझ परिचित गराएर अहिले देखिएका हिंसा तथा अशान्ति र द्वन्दलाई न्यूनिकरण गर्नका लागि रोहिणी सिद्धान्तको विकास गर्न आवश्यकता देखिन्छ । रोहिणीको विकास र विस्तार गर्न सके संसारको ध्यान नेपाल तर्फ र बुद्धको सार्थकता सवैलाई बुझाउँन सहज हुने थियो । यसको खोजिमा केही विद्धानहरु लागेपनि सरकारले वास्ता गरेको छैन । राज्य तहले रोहिणी सभ्यताको खोज र अनुसन्धान गर्न अहिलेको माग हो । नेपालमा शान्ति, अहिंसा र द्वन्द समाधानका लागि रोहिणी नदिलाई उदारणको रुपमा लिन सकिन्छ । जहाँ बुद्धले आफै दुई देश बिच भएको विवादलाई अन्त्य गर्नका लागि भुमिका खेल्नु भएको थियो । उहाँले रोहिणीमा प्रवचनहरु पनि दिनुभएको देखिन्छ । बुद्ध इतिहासमा यस्ता महत्वपुर्ण विषयहरु भेटिएपनि प्रयोगमा आउन नसक्नु देशका लागि दुर्भाग्य हो । यसको खोज र अनुसन्धानका लागि हामी सवैले आवाज बुलन्द पार्नुपर्दछ । यसमा सवैले सहयोग र सद्भाव लाग्नु पर्दछ । नेपाल शान्ति र अहिंसाको क्षेत्र हो । यसलाई संस्था गर्न रोहिणी सभ्यता अझ महत्वपुर्ण क्षेत्र हो । यसको खोज र अनुसन्धान गरि संसारमाँझ पुराउने काम नेपाल सरकार तथा बुद्ध अभियान्ताले गर्नु पर्दछ । लुम्बिनी विकास कोष तथा रोहिणी गाउँपालिका र स्थानीय जनसमुदायले रोहिणीलाई संस्थागत गर्नका लागि भुमिका खेल्नुपर्ने देखिन्छ ।