ओमसतिया, चैत १० । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१ ठुटिपिपलको आयोजनामा फागुन २९ गतेबाट शुरु भएको ११औं नवयुवा कप फुटबल प्रतियोगिता ओमसतिया–२, स्थित कर्मडाँडा खेल मैदानमा सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवको प्रमुख आतिथ्यतामा भएको फाइनल खेलमा न्यू राइज युवा क्लब बभनीलाइ शुन्यको बिरुद्ध ३ गोलले सन्जीवनी युवा क्लब तिलोत्तमा–१३, देवीनगर बागधुरा प्रथम उपाधि जित्न सफल भएको छ ।
संजीवनीको तर्फ बाट ११ नं. जर्सीका स्ट्राइकर खेलाडी फागुराम थारुले पहिलो हापको आठांै मिनेट र दोस्रो हापको २४औं र ४३औं मिनेटमा ३ वटा हैटत्रिक गोललाई न्यू राइजले पुरा खेल अवधि भित्र कुनै पनि गोल फर्काउन सकेन । न्यू राइजको तर्फदेखि आक्रमक खेल देखाएता पनि स्ट्राइकर खेलाडीले गोलमा परिणत गर्न सकेनन् ।
आजको समापन समारोहमा आयोजक संस्थाले आफ्ना पूर्व अध्यक्षहरु लक्ष्मणकुमार श्रीस, बेलबहादुर बराल मगर, अमित कुमार थापा श्रीसलाई र पूर्व फुटबल खेलाडी बीर बहादुर शाहीलाई सम्मान गरिएको थियो । त्यसै गरी प्रतियोगितालाई सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरे वापत सहयोगदाता एवम् संस्थाका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने संजीवनीका अनुप बुढा, सर्वाधिक गोलकर्ता संजीवनीका फागुराम थारु र उत्कृष्ट गोलरक्षक संजीवनी कै गोलकिपर निशान रानालाई जनही रु. पाँच हजार र ट्रफी एवम् प्रमाणपत्रद्वारा पुरष्कृत गरिएको थियो । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने राष्ट्रिय रेफ्री अमर पुन लगायत ४ जना रेफ्रीलाइ कदरपत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
ओमसतिया–१ का वडाध्यक्ष बेल बहादुर बराल मगरले कर्मडाड़ा खेल मैदानलाई भावीपुस्ताको लागि संरक्षणको खाँचो भएकोले सबैले ध्यान दिनु पर्ने औल्याउँदै आफ्नो तर्फदेखि जस्तो सुकै सहयोग गर्ने बताएका थिए । प्रमुख अतिथि पालिका अध्यक्ष यादवले खेल मैदान र खेलकुदलाई कसरी संरक्षण र सम्वर्धन गर्ने त्यस बारे पालिकाले अवश्य ध्यान दिने प्रतिवद्धता गर्दै यस कार्यमा नवयुवा क्लबसंग समन्वय गरेर अगाडी बढ्ने विचार व्यक्त गरेका थिए ।
खचाखच उपस्थित रहेको दर्शकहरुको माझमा प्रथम हुने क्लबलाई रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित मेडल, प्रमाणपत्र र नवयुवा प्रथम कप शिल्ड र उपविजेता क्लबलाई रु. १ लाख १ हजार १ सय ११ रुपैयासहित मेडल, प्रमाणपत्र र नवयुवा उपविजेता कप शिल्ड प्रदान गरिएको थियो । समारोहको अन्तमा आयोजक सस्था अध्यक्ष चन्द्र बहादुर गुरुङले सम्पूर्ण सहयोगदाता, सौजन्यदाता, रेफ्रीहरु, पत्रकार तथा मिडिया हाउस, सहभागी क्लबहरु, सुरक्षाकर्मी, क्लबका पदाधिकारी एवम् सदस्य र दर्शक महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै ११आंै नवयुवा कप समापन भएको जानकारी दिएका थिए ।