logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सन्तानलाई संस्कार कि सम्पत्ति


    २० बैशाख २०८१ , बिहिबार

    सन्तानलाई संस्कार कि सम्पत्ति

     श्रीप्रसाद देवकोटा 
    छिमेकी घरमा ठूलो भीड थियो। घटना बुझ्न म पनि पुगें। बाबु–छोराको झगडा रहेछ। कक्षा ९ मा अध्ययनरत रहँदा बाबुले छोरालाई एसईई सकेपछि मोटरसाइकल किनिदिने वाचा गरेका रहेछन्। परीक्षा सकिसकेपछि छोराले बाबुको उक्त वाचा पटक–पटक सम्झाएको रहेछ। तर मोटरसाइकल नकिनिदिएपछि सामान्य भनाभनमा छोराले गेटमा रहेको इँटाले बाबुलाई प्रहार गरेको रहेछ। म पुग्दा छिमेकीहरू, रामप्रसाद र कविले छोरालाई समातिराखेका थिए। आमाले बाबुको दाहिने हातको हत्केलाको घाउ सफा गर्दै थिइन्। छोरो चिच्याउँदै थियो, ‘मेरा साथीहरूको बाबा–मामुले जे जे भन्यो त्यही किन्दिनुहुन्छ। उनीहरूलाई ‘फ्रिडम’ र ‘च्वाइस’ छ। मलाई सानोमा होस्टल र अहिले घरमै थुनेर राख्ने रु समय, साथ र भनेको पुर्‍याउन नसक्नेले मलाई किन जन्माएको रु मलाई सानोमा किन नमारिदिएको रु’ एकैछिनमा प्रहरीको भ्यान आइपुग्यो। बाबुले प्रहरीलाई सबै घटनाको विस्तार लगाए र छोरालाई केही दिन चौकीमा लगेर सजाय दिन लगाए सन्तानको रूपमा रहेको एक्लो छोरालाई चौकी पठाएपछि उक्त दम्पती पछुताउन थाल्यो। आफ्ना सबै दुःखकष्ट लुकाएर छोराको कुनै पनि रहर र चाहना पूरा गरेको कारण आज यो घटना घटेको बताए। पेशाले श्रीमान् विश्वविद्यालयका सहप्राध्यापक र श्रीमती गैरसरकारी संस्थामा बालबालिका सम्बन्धी परियोजनाको संयोजक रहिछन्। बाबु भन्दैथिए, ‘परिवार शिक्षित भए तापनि सन्तानलाई संस्कार दिन नसक्दा जुनसुकै समयमा पीडा र चोटले पिरोलिनुपर्ने रहेछ। उमेरले म ५५ पुगें। आजसम्म मैले करिब दश हजार विद्यार्थीलाई पढाएँ होला। मैले उत्पादन गरेका विद्यार्थीहरू आज कहाँकहाँ पुगेका छन्। मुलुकको नेतृत्व सम्हाल्नेदेखि लिएर डाक्टर, इन्जिनियरसम्म बनेका छन्। तर आफ्नै सन्तानलाई शिक्षा र संस्कार दिन नसकेको रहेछु। छिमेकीहरूको तडकभडकसँग प्रतिस्पर्धा गर्ने होडबाजीले एक्लो सन्तानलाई पुलिस चौकी पठायौं। छोराका स–साना कमजोरी र गल्तीहरू विगतदेखि नै ढाकछोप र प्रश्रय दिएका कारण सन्तानले गल्ती महसुस गर्ने कुनै समय नपाएको उनीहरूले अहिले आएर महसुस गरे। ‘हामीले बाल्यकालमा भोगेको अभावको छायाँ उसमा पर्न दिएनौं। उसले सानो गल्ती गर्दा श्रीमतीले गाली गर्दा मैले बचाउने, मैले गाली गर्दा श्रीमतीले बचाउँदाको प्रतिफल आज भोग्नुपर्‍यो।’ पैसा जति महँगो भए पनि अबेरसम्म बच्चा राखिदिने मन्टेसरीमा बच्चालाई भर्ना गर्छन्। परिवारको माया–ममता र पारिवारिक संस्कार सिक्ने समयमा अबोध बच्चा मन्टेसरीमा लग्छौं। बाबु आमाको काखमा खेलेर बस्ने बाल उमेर गह्रुङ्गो झोला बोकाएर ८र८ घण्टा विद्यालयमा थुन्छौं। उनीहरू भविष्यमा सन्तानले दुःख पाउँछ कि भनी रातदिन नभनी उसैका लागि सम्पत्ति जोड्न लागिपरेका दिनहरू सम्झन थाले। उनीहरू दुवै व्यस्त भएका कारण छोरालाई सानै उमेरमा होस्टल राखिदिए। मुस्किलले १५ दिनमा आलोपालो भेट्न जान्थे। सुरुका दिनमा अभिभावकको काख छोड्दा ऊ घण्टौं रुन्थ्यो रे .‘लामो समय होस्टल बसेको हाम्रो सन्तानमा घर फर्केपछि माया, प्रेम र सद्भाव केही पनि थिएन। सानो सानो कुरामा झर्कने, कराउने र झगडा गर्नु सामान्य बन्न थाल्यो’ ती बुवा भन्दैथिए, ‘जतिबेला उसलाई अभिभावकको माया, प्रेम र सद्भाव चाहिने थियो, उसलाई होस्टलको पिंजडामा थुन्यौं।’

    उनीहरू अहिले स्वीकार्दै छन् कि छिमेकमा सम्पन्न, ठूलो र रवाफ देखाउन खोज्दा सन्तानलाई बिगारेछौं। उसलाई सामाजिक प्राणी बनाउन भन्दा पनि हाम्रो इज्जत र प्रतिष्ठा जोगाउने स्वार्थले सन्तानलाई अपराध कर्मतर्फ उद्यत हुन बाध्य बनायौं। उनीहरू हामीले पो अपराध गरिरहेका रहेछौं भन्दै छाती पिट्दै रुन थाले।

    माथि अभिभावकले भनेको तथ्य आजको हाम्रो वास्तविकता हो। जब बच्चा दुई वर्ष पुग्न थाल्छ, अभिभावकहरू सकेसम्म दिनभरि बच्चा राखिदिने मन्टेसरी खोज्न थाल्छन्। आफूहरू स्वतन्त्र भएर दिनभर काम गर्न चाहन्छन्।

    पैसा जति महँगो भए पनि अबेरसम्म बच्चा राखिदिने मन्टेसरीमा बच्चालाई भर्ना गर्छन्। परिवारको माया–ममता र पारिवारिक संस्कार सिक्ने समयमा अबोध बच्चा मन्टेसरीमा लग्छौं। बाबु आमाको काखमा खेलेर बस्ने बाल उमेर गह्रुङ्गो झोला बोकाएर ८र८ घण्टा विद्यालयमा थुन्छौं। शिक्षक शिक्षिकाहरू पनि बच्चालाई मानवीय आचरण, माया–ममता सिकाउने भन्दा पनि रटाउने र घोकाउनेमा जोड दिन्छन्। यसको कारण बच्चाको प्राप्ताङ्कले शिक्षक र स्कुलको सफलतालाई नापिन्छ।

    अर्कोतर्फ जुन विद्यालयमा अंग्रेजी विषयमा पठनपाठन गराइन्छ, त्यही विद्यालय रोजिन्छ। विद्यालयहरूले पनि विदेशी पाठ्यक्रम, पाठ्यपुस्तक र गोरो शिक्षण विधि देखाएर बढीभन्दा बढी विद्यार्थी भर्ना गर्छन्। आज न त पाठ्यक्रम र पाठ्यपुस्तकमा हाम्रो माटो र सामाजिक मूल्यमान्यताका विषयवस्तु समेटिएको छ न त शिक्षकको शिक्षण विधिमा हाम्रोपन।

    जब घरमा बच्चा आउँछ, अभिभावकहरू कति अंग्रेजी बोल्न जान्यो, कति जोडघटाउ सिक्यो, नयाँ नयाँ र्‍याम्स कति भन्न सक्यो इत्यादि मापन गर्छौं। गृहकार्यमा कति नम्बर ल्यायो हेर्छौं। विषयवस्तु के छ, त्यता ध्यान दिंदैनौं। बच्चा झगडा गरे वा आफू कुनै काममा व्यस्त भए बच्चालाई मोबाइलमा कार्टुन लगाइदिन्छौं। बच्चाको सिर्जनात्मकता कहिल्यै बुझ्ने प्रयास गर्दैनौं। बोझिलो रटाइ र घोकाइ बाध्यता बनाउँछौं। न त स्कुलमा सामाजिक आचरण, मान, सम्मान सिकाइन्छ न त परिवारमा।

    अर्कोतर्फ आफ्ना सन्तानहरूको कुनै कमजोरीहरू भन्न रुचाउँदैनौं। जमघटहरूमा आफ्नै सन्तानहरूको तारिफ मात्र गर्छौं। जसरी हुन्छ आफ्नो सन्तानको सफलता सुनाउँछौं। बच्चाले आफ्नो कमजोरी थाहा पाउने र सच्चिने कुनै मौका पाउँदैन।

    परीक्षा होस् वा खेलकुद अभिभावकदेखि स्कुल र शिक्षकहरूको आफ्ना सन्तान र पात्रहरूको सफलता हेर्छौं। जसरी भए पनि आफ्नो सन्तान वा पात्र प्रथम हुनैपर्ने, जित्नै पर्ने दबाब सिर्जना गर्छौं। अरू साथी लडोस्, पल्टोस् कुनै ख्याल नराखी आफ्नो बच्चालाई जित्नका लागि सिकाउँछौं। बच्चाले पनि जबरजस्त आफ्नो क्षमता अनुसार नतिजा निकाल्छ। साथीको दुःख, सुख, अप्ठ्यारो, सहजता कुनै प्रवाह राख्दैन। साथीलाई कुल्चेर, नाघेर जसरी हुन्छ उसले जित्नुपर्छ।

    परिवारभित्रै सन्तानहरूबीच शैक्षिक उपलब्धिको प्रतिस्पर्धा गराउँछौं। छिमेकमा आ(आफ्ना सन्तानको शैक्षिक उपलब्धि परिवारको मानसँग तुलना गराउँछौं। समाजले पनि बच्चाको प्राप्ताङ्कमा परिवारलाई सम्मान र सद्भाव प्रकट गर्दछ। विद्यालयहरू पनि यही कुरा बुझेर परिवारलाई खुसी पार्न बच्चाको वास्तविक प्राप्ताङ्क भन्दा पनि थपघट गरेर नतिजा प्रकाशन गर्छन्। यसले बच्चाको सिक्नुपर्ने कुराहरू, वास्तविक क्षमता, कमजोरी र सुधारका बाटाहरू ओझेलमा पर्छन्।

    परिवारदेखि मन्टेसरी हुँदै विश्वविद्यालयसम्मै यही प्रक्रियामा बच्चाले आफूलाई विकास गर्छ। उक्त बच्चा विश्वविद्यालयबाट दीक्षित भएर देशका लागि केही गर्ने समयमा पुग्छ। तब सबै आफ्नै लागि मात्र सोच्न थाल्छ। कसरी म सफल हुने, कसरी मैले मनग्य धनसम्पत्ति कमाउने, कसरी म साथीहरू भन्दा अगाडि हुने इत्यादि सोच्न थाल्छ।

    आफ्नो सफलतालाई परिवार र समाजको सफलता देख्न थाल्छ। परिवार र सामाजिक उत्तरदायित्व भन्दा पनि व्यक्ति केन्द्रित स्वार्थमा लिप्त हुन्छ। आफ्नो उद्देश्य प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैन। बच्चाले न त परिवारमा सामाजिक आचरण सिक्न पाउँछ न विद्यालय न त विश्वविद्यालयमा। आज हाम्रो परिवार, समाज, विद्यालय, विश्वविद्यालयहरू अत्यन्तै स्वार्थी, व्यक्ति केन्द्रित र अनुत्तरदायी शैक्षिक जनशक्ति उत्पादन गर्ने कारखाना बनेका छन्।

    बच्चालाई पारिवारिक मानसम्मान, मर्यादा, सामाजिक मूल्यमान्यता कसले सिकाउने हो रु राज्यले हो, सरकारले हो रु पक्कै हैन। परिवार, समाज, विद्यालय र विश्वविद्यालयले नै हो।

    तर हामीले बालबालिकाहरूलाई कस्तो शिक्षा, संस्कार र समय दिइरहेका छौं, यस विषयमा कहिल्यै सोचिएन रु उनीहरूलाई पारिवारिक मान–सम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य मान्यताका बारेमा जानकारी गराएनौं। जसले गर्दा बालबालिकाको मस्तिष्कमा नकारात्मक चित्र उत्रन थाल्छन् र अपराधीकरण बढ्छ।

    एकल परिवार, पाश्चात्य संस्कार र संस्कृतिको प्रभावमा बालबालिका हुर्किइरहेका छन्। जब उनीहरू जवान भए, त्यसबेला मात्र उनीहरूबाट संस्कारको अपेक्षा गर्न थालियो। बाल मस्तिष्कमा नभरिएका कुराहरू पछि आएर अपेक्षा गर्नुको कुनै अर्थ रहँदैन।

    यसर्थ जीवनको सार्थकता, सफलता र सम्पत्ति भनेको संस्कार हो। संस्कारले निष्ठावान् र चारित्रिक बनाउँछ। संस्कारिक जीवनशैलीबाट नै मानव चेतनाले आफूलाई सही र आचरणयुक्त कर्म र व्यवहारमा रूपान्तरण गर्ने सामर्थ्य जुटाएको हुन्छ। कर्म र व्यवहारमा परिष्कृत गरी सामाजिक आदर्शको गन्तव्य निर्धारण गरेको हुन्छ। मानव चेतनाले स्वीकार गरेको संस्कृतिबाटै समाज परिष्कृत हुने हो।

    परिवार नै संस्कारको पहिलो आधार र जननी हो। यसकारण बच्चालाई संस्कार दिने पहिलो कर्तव्य अभिभावक र परिवारको हो। आफ्नो व्यस्ततालाई सहज बनाउन दुई वर्ष नपुग्दै बच्चालाई विद्यालय पठाउने हैन। व्यस्तता घटाएर बच्चा सँगसँगै बस्ने समय मिलाउने हो। बच्चाले सबैभन्दा छिटो बुझ्ने र सिक्ने भनेको आमाबाबुबाटै हो।

    आमाबाबुले समय दिएको बच्चा संस्कारी र चारित्रिक हुन्छ। अतः सन्तानको लागि सम्पत्ति भनेकै बाल्यकालमा आमाबाबुले दिएको साथ, समय र पारिवारिक संस्कार हो। आजैदेखि गलत अभिभावक हैन, बालबालिकाको साथी बन्न प्रण गरौं

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.