logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    कृषि क्षेत्रमा फड्को मार्दै सिद्धार्थनगर


    ३० बैशाख २०८१ , आइतबार

    कृषि क्षेत्रमा फड्को मार्दै सिद्धार्थनगर

    रुबिना थापा
    भैरहवा, ३० वैशाख । सिद्धार्थनगर नगरपालिका वडा नं. ११ का ५१ वर्षिया रामदास कलवार यस नगरका पुराना कृषक हुन । उनले आफु जान्ने भएदेखि पुर्णकालिन रुपमा कृषीक्षेत्रमा काम गर्दै आएका छन् । आफ्नो ४ बिघा जग्गामा मौसम अनुसारको खेती किसानी गर्दै आएका उनी अहिले उन्नत कृषि उत्पादनमा लागेका छन् । परम्परागत खेती किसानीबाट आफ्नो परिवार पाल्दै आएका उनले करिब ३ वर्ष अघि देखि नगरपालिकाले वितरण गर्ने उन्नत विउबिजनको प्रयोगले कृषि उत्पादनमा ठूलो सहयोग पुराएको बताउँछन् । पहिला, पहिला सामान्य घर खर्च र आफ्नो ८ जनाको परिवार पाल्न ठिक्क हुने उनको कृषि उत्पादन, नगरपालिकाले दिने उन्नत विउबिजनको प्रयोग पछि सन्तोषजनक भएको उनको भनाई रहेको छ । सिद्धार्थनगर नगरपालिकाले उन्नत बिउबिजनका साथै कृषिक्षेत्रमा मल तथा प्रविधिको अनुदान दिन सुरु गरेपछि आर्थिक रुपमा समेत राम्रो उर्पाजन गर्न सफल भएको कलवारले जानकारी दिए । कलवारले अहिले आफ्नो जग्गामा धान, गहुँका साथै आलु, गोभी, सिमि, बोडी, लौका, घिरौला, तोरी, दालका प्रकारहरु उत्पादन गरि बिक्री वितरण गर्ने गरेका छन् । जसबाट उनले घरखर्च कटाएर वार्षिक रु ५ लाख सम्म बचत गर्ने गरेको बताउँछन् ।
    यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नं. ८ की सावित्री न्यौपानेलाई पनि नगरपालिकाले पुर्ण अनुदानमा दिने बिउविजनले गर्दा करेसावारी खेतीमा आर्कषण गराएको छ । चार वर्ष अघि सम्म चुलो, चौको, साथीसंगी संग कुराकानी गर्दै र मोबाईलमा हेर्नमा सिमित न्यौपाने, अहिले घरछेउमा रहेको ३ कठ्ठा जग्गामा करेसाबारी खेती गर्नमा व्यस्त देखिन्छिन् । मौसम अनुसार नगरपालिकाले तरकारीको बिउबिजन निःशुल्क दिने थाहा पाएपछि तरकारी खेती गर्न न्यौपानेले सुरु गरेकी हुन । कृषिक्षेत्रमा नगरपालिकाले धेरै अनुदान दिने गर्दछ । उनले भनिन, ‘मैले नगरपालीकाले अनुदान दिने कुरा थाहा पाए पछि घरछेउमा रहेको खाली जग्गालाई सदुपयोग गर्न थालेकी हुँ ।’ जुन जग्गामा उत्पादन भएको अर्गानिक तरकारी न्यौपानेको ९ जनाको परिवारलाई वार्षिक रुपमा खान पुग्ने गरेको छ । परिवारले उपभोग गरेर बचेको तरकारी आफन्त तथा छिमेकीलाई समेत बाड्ने गरेको न्यौपानले बताउँछिन । सिद्धार्थनगर नगरपालिकाले उनलाई निःशूल्क रुपमा बिउबिजन दिने गरेका छ भने मल तथा प्रविधिमा समेत सहयोग गर्ने गरेको उनी बताउँछिन । वर्षको एकपटक नगरक्षेत्रमा रहेका कृषकलाई विभिन्न प्रकारमा तालिम दिनुका साथै कृषी उत्पादनका बिषयमा समेत नगरपालिकाले जानकारी दिने गरेको उनले जानकारी दिईन । वार्षिक तरकारी खरिदमा एकलाख भन्दा बढि खर्च गर्ने उनको परिवारले करेसाबारी तरकारी खेती सुरु गरेपछि उक्त रकम बचत हुने गरेको न्यौपानेले बताईन ।
    नगरपालिकाले दिने निःशूल्क विउविजनले गर्दा सिद्धार्थनगर नगरपालिका वडा नं. ११ का सुनिल चाईको जीवन फेरिएको छ । ५ कठ्ठा जग्गा भएका उनले विगतमा परम्परागत रुपमा धान खेती मात्र गर्ने गरेका थिए । जसले उनको ८ जनाको परिवारलाई केही महिना मात्र खान पुग्दथ्यो । तर अहिले उनको जीवनमा धेरै परिवर्तन भएको छ । उनले हिजो धान खेती गर्ने खेतमा अहिले मौसम अनुसार धान, गहुँ, मकै, तरकारी, तेलहन, दलहन, आलु खेती गर्ने गरेका छन् । नगरपालिकाका कृषि प्राविधिकहरुको सहयोग र सहकार्यमा उनले गर्ने आधुनिक कृषि खेतीले उनको परिवालाई खान पुगेर पनि तरकारीहरु बिक्री वितरण गर्ने गरेको चाईले बताउछन् । नगरपालिकाले निःशूल्क रुपमा विउविजन देखि अनुदानमा कृषि यन्त्र, मल लगायतका प्राविधिक सहयोग उपलव्ध गराउने गर्नाले कृषि उत्पादनलाई बढावा दिन सकिएको चाईको भनाई रहेको छ । उनले कृषकले उत्पादन गरेका कृषिजन्य पदार्थहरुलाई सहज बिक्री वितरणको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सुझाब दिएका छन् ।
    सिद्धार्थनगर नगरपालिका भित्रको १९ सय हेक्टर जमिनमा कृषि गर्ने गरिएको छ । ४० हजार मानिसले खेती किसानी गर्ने गरेपनि कृषिक्षेत्रमा आश्रित परिवारको सख्या भने १५ हजार रहेको सिद्धार्थनगर नगरपालिकाको तथ्याङ्ले देखाएको छ । यो नगरले वार्षिक ६५ लाख भन्दा बढि रकम कृषिक्षेत्रमा अनुदान दिनेमा खर्च गर्ने गरेको छ । उन्नत विउविजन, च्याउ खेती, कृषि औजार, सिचाई, तालिम, मल लगायतको क्षेत्रमा सिद्धार्थनगर नगरपालिकाले अनुदान दिने गरेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले जानकारी दिए । उनले भने, ‘ यो नगरमा कृषि क्षेत्रमा आत्मनिर्भर बन्न चाहाने युवाहरुलाई विशेष अनुदान नगरपालिकाले दिने गर्दछ ।’
    यो नगरले कृषिका साथसाथै पशुपालन क्षेत्रमा पनि अनुदान दिने गरेको छ । यहाँ व्यवसायी कृषिलाई नगरपालिकाले प्राथामिकतामा राखेको देखिन्छ । अन्नबालीका साथसाथै तरकारी बालीमा फूलगोभी, बन्दा, ब्रोकाउली, गोलभेडाँ, मूला, गाजर, सलगम, भेडेँ खुर्सानी, केराउ, सिमी, सिप्चना,बोडी, अकबरे खुर्सानी, भिण्डी, भाण्टा, प्याज, काक्रा, फर्सी, करेला,परवर, घिरौला, चिचिण्डा, लौका, कुभिण्डो, खर्बुजा, सित्तल चिनि, धनियाँ पात,पालक, चम्सुर, लोडेको साग, मेथी लगायतको विउविजन निःशूल्क दिने काम र अन्य कृषि सामाग्रीलाई अनुदानमा दिने काम नगरपालिकाले गर्ने गरेको सिद्धार्थनगर नगरपालिकाको सूचना शाखाले जनाएको छ ।
    नगरक्षेत्र भित्र फलफूल बालीमा कागती, अनार, आँप, केरा, अम्बा, मेवा, कटहर, भुईकटहर, लिची, सुपारी, नरिवल, ड्रेगन फ्रुटका बिरुवा समेत अनुदानमा नगरपालिकाले वितरण गर्ने गरेको नगरपालिकाले जानकारी दिएको छ ।
    तेलहन बालीमा तोरी, रायो, सूर्यमुखी, तिल, बदाम, आलस र अन्य उत्पादनमा समेत सिद्धार्थनगरपालिकाले बिउबिजन, मल र सिचाईमा अनुदान दिने गरेको छ । दलहन बाली अन्तरगर्त अरहर, मसुरो, मास लगायतमा अनुदान दिने गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।
    सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा कृषि गर्ने परिवारलाई विशेष प्राथामिकतामा राखेर बजेट निर्माण गर्ने र विउविजन तथा अन्य सामाग्रीमा थप अनुदान उपलव्ध गराउदै जाने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनु भयो । उहाँले अर्गानिक खेतीकिसानी गर्ने तथा करेसावारी खेती र कौशी खेती गर्ने किसानहरुलाई समेत समेटेर आगामी कार्यक्रमहरु अगाडि बढाउने जानकारी दिनुभयो ।
    नगर भित्र मसला बाली प्याज, खुर्सानी, अदुवा, वेसार गर्न चाहाने किसानहरुलाई विशेष अनुदान दिने र किट विकास तर्फ मौरी, च्याउ र नगदेबाली तर्फ आलु र उखु खेतीमा सिद्धार्थनगर नगरपालिकाले अनुदान दिने गरेको सिदार्थनगर नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र यादवले बताए । नगरपालिकाले कृषकको माग अनुसार अनुदानमा रासायनिक मल युरिया, डिएपी, पोटास उपलव्ध गराउने गरेको छ ।
    पछिल्लो चरणमा सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई प्राथामिकतामा राखेर विउविजन र प्रविधिमा सहयोग पुराउन थालेपछी कृषी क्षेत्रमा कामगर्नेहरु हौसिएका छन् । आर्थिक उर्पाजनको क्षेत्रमा कृषिलाई विकास गर्दै स्थानीय क्षेत्रमा स्वरोजगार बन्ने चरण किसानहरु पुगेको देखिन्छ । कृषि उत्पादनलाई बढावा दिनका लागि नगरपालिकाले अनुदान दिन थालेपछि कृषकहरुको आर्थिक अवस्था पनि राम्रो बन्दै गरेको कृषकहरु बताउँछन् । हिजो खेती किसानीबाट खान लाउन धौधौ पर्ने किसानहरु नगरकृषि परियोजनाको सहयोगले गर्दा अहिले मनग्य कमाउन थालेको पाईन्छ । यसलाई नगरपालिकाले निरन्तरता दिन जरुरी छ ।
    कृषि फर्महरु
    सिद्धार्थनगर नगरपालिका वडा नं. ४ का रामु अहिरले वि.स. २०७६ साल देखि करोडौको लगानीमा श्री आर.एन.ए. मल्टी प्रपोज कम्पनि लि. स्थापना गरि फलफुल, तरकारी र पुस्पखेती उत्पादन गरिरहेका छन् । यहाँ अहिले १४ जना युवाहरुले रोजगार पाएको देखिन्छ । नगरपालिकाको नगर कृषि योजना भित्र यो फर्मलाई थप व्यवस्थित बनाउनका लागि विभिन्न सहयोग गर्ने योजना बनाएको देखिन्छ । त्यस्तै वडा नं. १० का विष्णु पौडेलले अनिता कृषि तथा पशु फार्म स्थापना गरि नगदेवाली उत्पादन गर्नुका साथै व्यवसायी पशुपालन गरिरहेको छन् । जसमा नगरपालिकाको प्रत्यक्ष सहयोग र सहकार्य रहेको छ ।
    कृषक समुह
    यो नगरमा २३ वटा कृषक समुह गठन गरि कृषिक्षेत्रको विकास र बिस्तार गर्ने काम भैरहेको छ । यहाँ अहिले विभिन्न वडामा रहेका कृषक समुहले करेसावासी खेती, कौशी खेतीका साथै व्यवसायी कृषि गरिरहेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । यहाँ अहिले नमस्ते किसान कृषक समुह, बेराजगार यूवा कृषक समुह,दुर्गा माता कृषक समुह, कालिमाई कृषक समुह, गणेश कृषक समुह, बुद्ध दर्शन कृषक समुह, अहमद कृषक समुह, मेउडिहवा कृषक समुह, सिसवा युवा कृषक समुह, सिसवा कृषक समुह, पंचरत्न कृषि महिला समुह, उत्कृष्ट कृषि महिला समुह, पौरखी महिला कृषक समुह, जय नेपाल युवा कृषक समुह, महिला जागरण कृषक समुह, जय माँ दुर्गे मत्स्य तथा तरकारी कृषक समुह, दरखसवा कृषक समुह, गणपती बहुउद्देश्य कृषक समुह, मिश्रोलिया कृषक समुह, सिद्धार्थ गौतम कृषक समुह, दिपज्योती महिला कृषक समुह, कान्ति महिला कृषक समुह र ज्ञान ज्योती कृषक समुहले सकृय रुपमा काम गरिरहेका छन् ।
    कृषि सहकारी
    कृषि क्षेत्रलाई व्यवस्थित र आर्थिक कारोवारका लागि नगर भित्र १२ वटा कृषि सहकारी सञ्चालनमा रहेका छन् । अरनिको बहुउद्देश्यीय सहारी संस्था, भरपूर्ण कृषि सहकारी, सुरिलो कृषि सहकारी, शारदा कृषक सहकारी, कृष्ण कृषि सहकारी, आफ्नै बहुउद्देश्यीय सहकारी, किसान सहकारी, लुम्बिनी कृषि सहकारी, सिद्धार्थ गौतम बहुउद्देश्यीय सहकारी, नेपाल बहुमुखी सहकारी, स.सं. लि. (भैरहवा सेवा केन्द्र), राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी रहेका छन् ।

    अनुदानमा मल बितरण केन्द्र
    कृषकहरुलाई सहज तथा अनुदानमा १२ वटा मल वितरण केन्द्र रहेका छन् । श्रीनगर बचत तथा क्रर्ण सहकारी संस्था, सफल बचत तथा क्रर्ण सहकारी संस्था, आर. जी. सप्लार्य, त्रिशुल बचत तथा क्रर्ण सहकारी संस्था, संस्कार बचत तथा क्रण सहकारी संस्था, नेपाल बहुमुखी बचत तथा क्रण सहकारी संस्था, अरनीको बचत तथा सहकारी संस्था, भरपूर्ण कृषि सहकारी, शारदा कृषक सहकारी, सुरिलो कृषि सहकारी, लुम्बिनी बचत तथा क्रण सहकारी संस्था, तिरुपती बचत तथा रिण सहकारी, रहेका छन् ।
    कृषी थोक बजार
    मायादेवी तरकारी तथा फलफुल थोक बजार यो नगरको मुख्य कृषि थोक केन्द्र हो । यहाँ कृषकले आफ्नो उत्पादन थोक मूल्यमा व्यापारीलाई बिक्री वितरण गर्ने गरेका छन् ।
    हाट बजार
    सिद्धार्थनगरमा २ वटा हाट बजार रहेका छन् । नगरको वडा नं. २ मा फरेनिया हाट बजार रहेको छ । यो बजार शनिवार र बुधवार लाग्ने गर्दछ । वडा नं. ५ मा रहेका पिठिया हाट बजार आईतवार र बिहिवार लाग्ने गर्दछ ।
    कृषि शिक्षा
    नगरको वडा नं १ मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रहेको छ । यो त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको सरकारी क्याम्पस हो । यहाँ कृषि तथा भेटेरीनरी अध्यापन हुने गर्दछ ।
    एग्रोभेट सेन्टर
    नगरक्षेत्र भित्र अहिले १५ वटा एग्रोभेट सेन्टर रहेका छन् । यी सेन्टरले कृषकको माग अनुसारको कृषि औजार तथा बालीनालीमा चाहिने औषधीको व्यवस्थापन गर्ने गर्दछन । जुन यस प्रकार छन् । बुद्ध एग्रो इन्टरनेश्नल, बाबा बिज भन्डार, बुद्ध एग्रो कन्सर्न, आर सी सप्लार्य, चौरसिया बिज भण्डार, अम्बे एग्रो भेट, ओम यादव कन्सर्न, यादव सप्लार्य, न्यू ओम एग्रो भेट, बि एण्ड पि एग्रोभेट, न्यू सिद्धार्थ एग्रोभेट, अधिकारी सिड सप्लार्य, न्यू सिद्धार्थ मलखाद तथा बिउ विजन बिक्री डिपो, भट्टराई एग्रो सेन्टर, मोहन काफ्ले कृषि मल बिज भण्डार रहेका छन् ।
    बिउ उत्पादन केन्द्र
    कृषि क्षेत्रलाई मध्यनजर गरेर सिद्धार्थनगर भित्र दुई वटा बिउ उत्पादन केन्द्र रहेका छन् । नगरको वडा नं. ७ मा लुम्बिनी सिड कम्पनी प्रा.लि र वडा नं. ११ मा कालिका सिड कम्पनी रहेको नगरपालिकाले जनाएको छ ।
    कृषि क्षेत्रमा काम गर्ने संस्थाहरु
    कृषिक्षेत्रलाई व्यवसायी र आधुनिकिकरण गर्नका लागि सिद्धार्थनगरमा ९ वटा संस्थाहरुले काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना समन्वय इकाई, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि सामाग्री कम्पनी लि., साल्ट टे«डिङ्ग, क्यारेन्टाईन कार्यालय, पशु क्यारेन्टाईन, खाध्य प्रविधि गुण नियन्त्रण कार्यालय, खाध्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालय रहेको कृषि शाखाका कर्मचारी भिम बहादुर के.सी.ले जानकारी दिए ।

    निष्कर्ष
    सिद्धार्थनगर नगरपालिका कृषि क्षेत्रमा चम्किदै अगाडि बढेको छ । यो नगरले कृषिक्षेत्रलाई व्यवस्थित र अर्गानिक क्षेत्रको रुपमा बिकास गर्नका लागि विभिन्न योजनाहरु अगाडि सारेको देखिन्छ । परम्परागत कृषि पेशामा आबद्ध किसानहरुलाई आधुनिक कृषि तर्फ नगरपालिकाले रुपान्तरण गर्ने गरेको छ । यो नगरमा कृषि क्षेत्रको उत्पादन बढाउने तथा व्यसायिकतामा अभिबृद्धि गर्ने उद्देश्यले रहेको देखिन्छ । यहाँ कृषि केन्द्रको रुपमा विकसित गराउनका लागि नगरपालिकाले विभिन्न योजनाहरु अगाडि सारेको छ । कृषि उद्योग तथा व्यवसायलाई अगाडि बढाउदै संस्थागत गर्नमा नगरपालिकाले महत्वपूर्ण भूमिका खेलको छ । पर्यटकीय क्षेत्रको रुपमा कृषि क्षेत्रलाई विकास गर्नका लागि विभिन्न सुधारका कार्यहरु सिद्धार्थनगर नगरपालिकाले गरेको देखिन्छ । कृषि क्षेत्रमा आश्रित रहेका मानिसहरुलाई वित्तिय सेवामा सहज पहुँचका लागि समेत नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्ने जरुरी छ । यसका लागि यहाँका कृषक, नगरका जनप्रतिनिधि र कर्मचारीहरु विचको सकरात्मक सहकार्यको खाँचो देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.