भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरले नेपाली भाषा साहित्य सम्बन्धी पुनर्ताजगीकरण तालिम सम्पन्न गरेको छ । प्याब्सन सिद्धार्थनगरले शनिबार भैरहवामा आयोजना गरेको विद्यालय तह अन्तर्गत नेपाली विषय शिक्षकलाई तालिम प्रदान गरेको हो ।
नेपाली भाषा, साहित्य सम्बन्धी नयाँ नीतिका विषयमा प्रशिक्षण दिएको प्याब्सन सिद्धार्थनगरले जानकारी दिएको छ । एक दिने पुनर्तजगिकरण तालिममा भैरहवा बहुमुखी क्याम्पस नेपाली विभाग को प्राविधिक समन्वय तथा प्रशिक्षण रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले नेपाली भाषा साहित्य, व्याकरणमा प्रति शिक्षकहरूको दुबिधा मेटाउने उद्देश्यले पुनर्ताजगीकरण तालिमको आयोजना गरिएको बताए । नेपाली विषय अध्यापनरत प्याब्सन सिद्धार्थनगरमा आबद्ध विद्यालयका शिक्षकलाई विषयगत रुपमा पुनर्ताजकीकरण गराउने प्रयास स्वरुप तालिमको आयोजना गरेको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोकुल पोखरेलले जानकारी दिए ।
नेपाली विषयमा परिमार्जित भएका व्याकरणिक नीति बारे नेपाली भाषा शिक्षकलाई जानकार गराउने उद्देश्यले तालिम आयोजना गरिएको तालिम संयोजक तथा प्याब्सन सिद्धार्थनगरका कार्यसमिति सदस्य युवराज पोखरेलले बताए ।
भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. त्रिभुवन बरई र बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक शालिकराम पौड्यालले प्रशिक्षण दिएका थिए । तालिममा भैरहवाका २५ विद्यालयका ७५ जना विषय शिक्षकको उपस्थिति रहेको थियो । पुनर्ताजकीकरण तालिममा सहजकर्ता र सहभागीहरु बिच परिवर्तित पाठ्यक्रमले समेट्न खोजेका सिकाइका बिभिन्न पक्षहरू, विद्यार्थीहरूका सक्षमता, तहगत रुपमा हासिल गर्नुपर्ने उपलब्धि लगायतका बारेमा अन्तरक्रिया पनि गरिएको थियो ।