लुम्बिनीखबर
भैरहवा, १३ असार । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि हुने गरेको सामाजिक भेदभाव निरुत्साहित गरि उनीहरुको उत्थानका लागि स्थानीय तहले पहलकदमी गर्न सरोकारवालाले माग गरेका छन् । सेभ द चिल्ड्रेन र निलहिरा समाजद्वारा भैरहवामा आयोजित सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीले तेस्रो लिंगी समुदायमाथि अहिले पनि राज्य र समाजबाट लाञ्छना, भेदभाव, तिरष्कार गर्ने क्रम कायमैं रहेको बताए ।
‘बिना भेदभाव राज्यको हरेक संरचनामा पुग्ने अधिकार यो समुदायले पाउनु पर्छ’, निलहिरा समाजकी कार्यक्रम संयोजक भूमिका श्रेष्ठले भनिन्, ‘यो समुदायको उत्थानका लागि स्थानीय तहदेखि नै प्राथमिकतामा राखेर योजना बनाइनु जरुरी छ ।’ स्थानीय तहले नीति तथा कार्यक्रम बनाउँदा यो समुदायको सहभागिता गराउन जरुरी भएको र रोजगारीका लागि पनि प्राथमिकतामा राख्न पर्ने उनले बताइन् ।
उनका अनुसार, तेस्रो लिंगी भएको पहिचान भएपछि घर परिवारले नै नस्विकार्ने भएपछि कतिपय डिप्रेसनमा पुगी मानसिक बिरामी हुने गरेको र कैयनले आत्महत्या गर्ने गरेका छन् । कार्यक्रममा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विभिन्न संस्थाका प्रतिनिधिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायद्वारा उत्पादित सामानले सामाजिक भेदभावै कारण बजार नपाउने गरेको, सिलाइकटाइ, पार्लर व्यवसाय संचालन गर्दा पनि अनेक लाञ्छना खेप्नु परेको, सार्वजनिक स्थलहरुमा यो समुदायका लागि शौचालय समेत उपलब्ध नहुने गरेको, निर्बाचनको वेलामा मतदानका लागि पनि महिला पुरुषको जस्तै अलग्गै लाइनको व्यवस्था नहुने गरेको, सभा समामारोहमा सम्बोधन गर्दा पनि छुटाउने गरिएको, कानुनले बैवाहिक मान्यता दिए पनि कुनै एकको मृत्यु भएमा सम्पत्तिको हकदार कायम नगरिएको लगायतका विभेद कायमै रहेको बताए ।
‘राज्यले तेस्रो लिंगीलाई कानुनी रुपमैं मान्यता दिएपछि पनि यस खालको भेदभाव किन ?’, कार्यक्रमको अध्यक्षता गरेकी मोनो सपोर्टिङ मेपल ग्रुपकी अस्मिता रानाले भनिन्, ‘यो समुदायको उत्थानका लागि स्थानीय तहबाटै विभिन्न योजनासहितको कार्यान्वयन गर्न नितान्त जरुरी छ ।’
निलहिरा समाज नेपालका कार्यक्रम निर्देशक संजय शर्माले कोभिडको समयमा पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिका लागि क्वारेन्टाइन र राहत पाउनदेखि समेत राज्य स्तरबाटै भेदभाव भएको उल्लेख गर्दै संविधानले दिएको अधिकार लिन यो समुदाय सशक्त रुपमा अघि बढ्नु पर्ने बताए ।
रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थानका लागि गाउपालिकाबाट बर्षेनि बजेट तथा कार्यक्रम समावेश गर्दै आइरहेको र यो क्रमलाई निरन्तरता दिइने बताइन् । एक्लोलाई सहारा दिने बृक्ष समूहकी मनिला न्यौपानेले संचालन गरेको उक्त कार्यक्रममा माइती नेपालकी माया क्षेत्री, मनोज लामिछाने, रिमा बिसी, बिनोद जिसी लगायतले आआफ्नो धारणा राखेका थिए ।