शहबाज खान । लुम्बिनीखबर
कपिलवस्तु , १९ साउन । कपिलबस्तु जिल्लाको एउटा आधारभूत अस्पतालमा १३ कर्मचारी म्याद थप कुर्दै छन् । १४ दरबन्दी कर्मचारी कुर्दै छन् भने कार्यालय सहयोगीले औषधी वितरण गर्दै छन् ।
जिल्लाको यशोधरा गाउँपालिकामा संचालित आधारभूत अस्पताल बैदौलीमा कुल ३० कर्मचारीको दरबन्दी हुनुपर्ने हो । तर हाल जम्मा १६ जना कर्मचारीको मात्र दरबन्दी रहेको छ । आवश्यक कर्मचारीको दरबन्दी नहुदाँ फार्मासिस्टको अभावमा कार्यालय सहयोगीले बिरामीलाई औषधी वितरण गरिरहेका छन् ।
अस्पतालमा कार्यालय सहयोगी शैलेन्द्र पाठक र श्रीराम यादवले बिरामीहरुलाई औषधी वितरण गर्दै आइरहेको स्थानीयले बताएका थिए । गाउँपालिकाले जनताको मर्म बुझी आधारभूत अस्पतालको स्थापना गरेपनि अस्पताल व्यवस्थित नहुँदा नागरिकको स्वास्थ्य जस्तो गम्भीर विषयमा चरम लापरवाही देखिएको छ । नागरिकले पाउने आवश्यक सेवा–सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन ।
अस्पतालमा ३० जना कर्मचारीको दरबन्दी हुनुपर्नेमा जम्मा १६ जना कर्मचारी मात्र रहेका छन् । जस मध्ये ३ जना स्थायी कर्मचारी र १३ जना करारका कर्मचारी कार्यरत रहेको अस्पतालका इन्चार्ज दिपेन्द्र सहानीले बताए ।
अस्पतालमा फार्मासिस्ट नभएको कारणले लामो समयदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका शैलेन्द्र पाठक र श्रीराम यादवले चिकित्सकले बिरामीहरुको पर्चामा औषधीको नाम लेखे अनुसार उनीहरुले औषधी वितरण गर्न सहयोग गरेको इन्चार्ज सहानीले दाबी गरे ।
अस्पतालमा दरबन्दी अनुसार कर्मचारीको अभाव र १३ जना करार कर्मचारीहरुको अषाढ़ मसान्त सकिदा समेत करार सम्झौताको म्याद थप नहुँदा अस्पतालका कर्मचारीको जागीर रहने नरहने अन्योलका कारण मनोबल खसकिएको इन्चार्ज सहानीले बताएका छन् ।
अस्पतालका इन्चार्ज सहानीका अनुसार –कर्मचारीको अभाव र भएका कर्मचारीको म्याद थप नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न निकै समस्या भएको समेत बताए ।
यसैगरी यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले कराराका कर्मचारीहरुको सम्झौताको म्याद थपिएको दाबी गर्दै कर्मचारीहरु कामकाजमा खटेको बताएका छन् ।
यस्तै नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालका सेवा–सुविधालाई थप व्यवस्थित गर्न गाउँपालिकाले छिटै ठोस कदम चाल्ने अध्यक्ष तिवारीको भनाइ छ ।
यता करारका कर्मचारीहरुले करार सम्झौता म्याद थप गरिएको सम्बन्धमा कुनै पत्र प्राप्त नभएको बताउँछन् । सम्झौता पत्र नभएपछि जागिर रहने नरहने अन्योलमा बस्दै आफ्नो कामकाजमा खटि रहेको उनीहरुले गुनासो सुनाए ।