भैरहवा, साउन २० । रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । अष्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज समूहले ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको टाइगर वान प्रालि गत वर्ष गैरआवासी नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरेको थियो ।
खरिद गर्दादेखि नै विवादमा परेको रिसोर्ट र त्यहाँ सञ्चालित क्यासिनोले मजदुरलाई पारिश्रमिक भुक्तानी नदिँदा आइतरबाट मजदुरले धर्नासहितको आन्दोलन सुरु गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा रहेको रिसोर्टमा क्यासिनो संचालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोरोनाकालमा निष्कासन गरिएका र अहिले पुनर्बहाली गरेका कर्मचारीहरुलाई दिनुपर्ने तलब बक्यौता रकम नदिएपछि मजदुरहरु आन्दोलित भएका हुन् ।
मजदूरले पाउनुपर्ने पारिश्रमिकका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कम्पनी व्यवस्थापन र मजदूरले गठन गरेको संघर्षसमिति बीच २०८० मङ्सिर १७ मा रकम भुक्तानी गर्ने सहमती भएको थियो । काठमाडौंको सांग्रिला होटल र टाइगरमा क्यासिनो संचालन गर्दै आएको कम्पनीले काठमाडौंमा क्यासिनो बन्द गरेर टाइगरमा मात्रै संचालन गरेको थियो । यहाँ पनि लगानीकर्ताहरु बीच विवाद हुँदा संचालक रवि नेपालले अर्कै रोयल टाइगर रिक्रियसन प्रालि नामको कम्पनी दर्ता गरेर क्यासिनो संचालन गर्ने तयारी गरेका छन् । तर, मजदुरलाई दिनुपर्ने रकम भने दिएका छैनन् । जसले गर्दा टाइगर प्यालेस र सांग्रिलाको क्यासिनोमा काम गरेका मजदुर आन्दोलित भएका हुन् ।
‘संचालकले कम्पनीको नाम फेर्ने, नयाँ सम्झौता गर भन्ने गरेको छन्’, मजदुर संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले भने, ‘विभिन्न बहाना बनाएर हाम्रो पारिश्रमिक नदिने खेल भइरहेको छ । यसैले हामीले आजबाट आन्दोलन सुरु गरेका हौं ।’ उनले विनाशर्त आफूहरुलाई दिनपर्ने रकम दिनुपर्ने र पुनर्बहाली गर्नुपर्ने जनाए । ‘होइन् भने हाम्रो आन्दोलन निरन्तर चल्छ’, उनले भने, ‘माग पुरा नभए गेटमै धर्ना दिएर बस्छौं ।’
पारिश्रमिक नपाउँदा मजदुरहरु श्रम अदालत गएका थिए । श्रम अदालतले गरेको फैसला अनुसार क्षतिपूर्ति सहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने भए पनि कर्मचारीहरुले कम्पनीको अवस्थालाई हेर्दै नयाँ व्यवस्थापन टिम अमेरिकामा रहेका गैरआवासीय नेपालीले खरिद गरेको हालका टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीसँग सम्झौता गर्दा प्रतिव्यक्ति राजीनामाको हकमा २ लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरिएको थियो । ‘सहमती अनुसार केही कर्मचारीको पुनर्बहाली भयो । तर ६० जना मजदुरले अझै पारिश्रमिक पाएका छैनन् । उनीहरुको पुनर्बहाली पनि भएको छैन’, उनले भने ।
आइतबारबाट उनीहरुले रिसोर्टको गेट अघि धर्ना दिएर बसेका छन् । गेटमै बसेर खाना पकाएर खाने र डसना विछ्याएर सुत्ने तयारी थालेका छन् । आफूहरुको पारिश्रमिक तत्काल दिनुपर्ने र विनासर्त पुनर्बहाली गर्नुपर्ने मजदुरको माग छ । यहाँका टे«ड युनियन अध्यक्ष ईश्वर पाण्डेले संचालकको दादागिरीले मजदुर पीडित भएको बताए । ‘जसरी हुन्छ पारिश्रमिक नदिई हामीलाई निकाल्ने सोंच संचालकको देखिन्छ’, उनले भने, ‘तर माग पूरा नभए हामी यहाँबाट उठेर जाँदैनौं ।’
मजदुरहरुले आफूहरुमाथि कम्पनीले निरन्तर हेपहा पैवृत्ति देखाएको जनाएका छन् । ‘लिखितरुपमा गरेको सम्झौतालाई लत्याउँदै कम्पनीले बक्यौता रकम श्रमिकहरुलाई दिन आनाकानी गरेको छ । यसको मतलब अब नदिने मनसाय बनाएको प्रष्ट हुन्छ’, मजदुर प्रतीक्षा पाण्डेले भनिन्, ‘हामी अब यही गेटमै सुत्छौं । यत्तिकै छाड्दैनौं ।’ मजदुरले सम्झौत कार्यान्वयनको माग गर्दै प्रशासनदेखि मन्त्रालयसम्म निवेदन दिएका छन् तर कार्यान्वयनका कसैले चासो देखाएका छैन । जसले गर्दा मजदुरको विचल्ली भएको छ ।
स्थानीय राजकुलो मिचेर संरचना बनाएको रिसोर्ट माथि आरोप छ । कोरोनाकालमा कार्यरत कामदारहरुलाई बिना सूचना निष्कासन गरेपछि पनि रिसोर्ट विवादमा परेको थियो । अहिले फेरि मजदुरलाई पारिश्रमिक र पुनर्बहाली नगर्दा विवादमा मुछिएको हो ।