लुम्बिनीखबर
नवलपरासी, ९ भदौ । नदीबाट अवैध उत्खनमा संलग्न सुनवल नगरपालिकाको जेसीबी र दुईटा मिनि टिपर डिभिजन बन कार्यालयले नियन्त्रणमा लिएको छ । खोला निकासी प्रतिबन्धित समयमा पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि ढुवानी गरिरहेको अवस्थामा डिभिजन बन कार्यालयले नियन्त्रणमा लिएको हो ।

सुनवल नगरपालिकाले नगरकार्यपालिकाको निर्णय र जिल्ला विपद व्यवस्थापन समतिको निर्णय बेगर प्रक्रिया नपुर्याई आफनो मनोमानी ढंगबाट चोरी शैलीमा सुनवलको तुरिया खोलाबाट नदीजन्य पदार्थ झिकि रहेको स्थानियले देखेपछि उनीहरुको चर्को विरोध पछि बन कार्यालयले एउटा जेसीभि र दुईटा मिनी टिपर नियन्त्रणमा लिएको हो ।
नगरपालिकाले रमवापुरको बाटो मर्मत र कृषण धाम अगाडीको बाटो मर्मतका लागि ग्रावेल हाल्न प्रक्रिया नपुर्याई सिधै खोलाबाट अवैध तरिकाले नदीजन्य पदार्थ झिक्ने कार्यको स्थानियले विरोध गरेपछि डिभिजन बन कार्यालयको कर्मचारीहरु घटना स्थलमा पुगेका थिए ।
घटना स्थलमा बनका कर्मचारी पुगेर सोधपुछ गर्दा पालिकाले कुनै अनुमति नलिएको र कुनै निर्णय पनि नरहेको र कुनै जिम्मेवार व्यक्ति पनि नरहेकोले यसरी बन क्षेत्रमा अवैध उत्खनन गर्न नपाईने भन्दै आई एए ००२९ नम्बरको जेसीभी, एफ एए ०४०३ र एफ एए ०४०४ नम्बरको नदीजन्य पदार्थ लोडेड मिनि टिप्परहरु नियन्त्रणमा लिई शसस्त्र बन सुरक्षा शाखा क्याम्प बडेरामा राखिएको डिभिजन बन कार्यालयको निमित्त कार्यालय प्रमुख मोहन प्रसाद गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाको अनुसन्धानका लागि अनुसन्धान अधिकृत खटाइ अनुसन्धान कार्य भैरहेको जानकारी दिनुभयो ।
आफत विपदका बेला स्थानियहरुले नदीजन्य पदार्थ झिक्न खोज्दा पालिकाले नियमन गर्ने र आफुँ सिधै चोरी शैलीमा बिना कुनै निर्णय र सरोकार राख्ने निकायसंग समन्वय नगरि कानुनको धज्जी उडाउदै मनमानी गरिरहेको हेर्दा आफुँ सुनवलबासीहरु लज्जित हुन परिरहेको स्थानियहरुको भनाई छ । यता नगरपालिकाले प्रक्रिया नपुर्याई सिधै नदीबाट ग्रावेल झिकेकाले यस्तो समस्या आएको नगरपालिकाले स्वीकारेको छ । नगरपालिकाले आफुँ जफत गरेको नदीजन्य पदार्थबाट पनि काम चलाउन सकिन्थ्यो तर त्रुटीको पालिकाले महसुस गरेको छ ।
यता नगर प्रमुख बिमला अर्यालले हामी अहिले अवैध डम्पिङ्ग र छरिएका नदीजन्य पदार्थ तथा ग्रावेल जफत गर्ने अभियानमा लागेका छांै । यो अभियानले खोलाहरुमा कडा निगरानी बढाएकोले स्थानिय खोला तस्करहरु हाम्रो सवारीहरु नियन्त्रणमा लिई प्रतिसोध साधेको आरोप लगाउनु भयो । उहाँले खोला माफियाहरु प्रहरी र बनका कर्मचारीहरुलाई मिलाई अवैध उत्खनन गर्ने कार्य गर्दै आएको आरोप लगाउदै अहिले पाकिलाले कडाई गरेपछि यस्तो घटना घटन पुगेको बताउनु भयो ।
सुनवल नगरपालिका तुरिया खोला, पानभार खोला, बडेरा खोला र बिसासय खोलाहरुमा सबै नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको छ । पालिकाले चोरी निकासी रोक्न खोलाहरुमा निगरानी बढाएपछि खोला तस्करहरुमा खैलाबैला मचेको छ ।