रुबिना थापा । लुम्बिनीखबर
भैरहवा, २७ भदौ । भीम अस्पतालले दैनिक ४ सय भन्दा बढी बिरामीलाई ओपिडी सेवा दिदै आइरहेको छ ।
भैरहवाको सिद्धार्थनगर स्थित रहेको यस क्षेत्रको सबै भन्दा पुरानो अस्पतालको रुपमा रहेको भीम अस्पताल गुणस्तरीय सेवा दिनका लागि विभिन्न किसिमका कसरतहरु गर्दै आइरहेको देखिन्छ ।
ओपिडी सेवा र आकस्मिक सेवा दिदै आएको अस्पतालले विभिन्न किसिमका अन्य सेवाहरु २४ सै घण्टा प्रवाह गर्दै आएको छ ।
१९९० सालमा स्थापना भएको अस्पताले वर्षमा लाखौँ बिरामीहरुको उपचार सेवा दिँदै आइरहेको अस्पताल व्यवस्थापन शाखाले जानकारी दिएको छ ।
अस्पतालमा सञ्चालित ओपिडी सेवा र आकस्मिक सेवाका लागि आएका बिरामीको अवस्था हेरेर २ ओटा आई.सि.यू मा राखेर उपचार गर्दै आइरहेको जसबाट ८ सय भन्दा बढीले आई.सि.यू बाट उपचार सेवा लिइ सकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले बताउनुभयो । आकस्मिक सेवामा सर्पको टोकाइबाट घाइते बिरामी, दुर्घटनामा परेका बिरामीका साथै अन्य बिरामीहरुको आई. सि.यू मा उपचार भइरहेका मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताले जनाउनुभयो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताका अनुसार –‘कोभिडको आई.सि.यू.दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आएको छैन, यस विषयमा सम्बन्धित निकायसँग सहकार्य गरी छिटै सञ्चालनमा ल्याउने पहल गरेका छौँ ।’
अस्पतालमा विभिन्न किसिमका विरामीहरु आउने गर्छन् , बृद्धबृद्धा, अपाङ्ग, असहाय, गरीब, एकल महिला तथा अन्य लक्षित समुहमा पर्नेहरुका लागि सामाजिक सेवा इकाई बाट निःशुल्क उपचार अस्पतालले दिदैं आएको छ । यी सेवा दिदै आएपनि अस्पताल अपाङ्गमैत्री बन्न नसकेको मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताले जानकारी दिनुभयो ।
अस्पतालमा ओपिडी सेवा अन्तर्गत हड्डी, स्त्री, आँखा, बालरोग, छाला यौन तथा कुष्ठ रोग, सर्जरी, नाक, कान, घाटी, दाँत तथा मुख सम्बन्धी सेवाहरु दैनिक ५ घण्टा (१०–३ बजे) सम्म सञ्चालन हुने अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेनले बताउनुभयो ।
अस्पतालमा सञ्चालित आकास्मिक सेवा, ल्याब, प्रसुती, रेडियोलोजी, इन्डो, फार्मेसी, एस.एन.सी.यु, सि.ई.ओ.एन.सी, ओ.सि.एम.सी जस्ता सेवाहरु २४ सै घण्टा खुल्ला रहने सूचना अधिकारी हुसेनले जनाउनुभयो ।
अस्पतालको आर्थिक वर्ष ०७८।०७९ देखि ०८०। ०८१ को ३ वर्षको तथ्याङ्कलाई हेर्दा गत वर्ष ओपिडी र आकस्मिक सेवा लिनेको संख्या १ लाख भन्दा बढी देखिन्छ ।
अस्पतालको तथ्याङ्क अनुसार ०७८।०७९ सालमा ओपिडी सेवा लिनेको संख्या ६३ हजार २ र आकस्मिकमा १२ हजार ९ सय २ गरी ७५ हजार ९ सय ४ जना रहेको छ । त्यसै गरी ०७९।०८० सालमा ओपिडी सेवा लिनेको संख्या ९० हजार ३ सय १० र आकस्मिकमा १५ हजार १ सय ४५ गरी १ लाख ५ हजार ४ सय ५५ जना रहेको छ भने ०८०।०८१ सालमा ओपिडी सेवा लिनेको संख्या १ लाख १२ हजार ८ सय ४५ र आकस्मिकमा १९ हजार ८ सय ८२ गरी १ लाख ३२ हजार ७ सय २७ जना रहेको छ । यसरी हेर्दा ३ वर्षमा ३ लाख १४ हजार ८६ जना बिरामीहरुलाई अस्पतालले सेवा प्रवाह गरेको तथ्याङ्कले देखाएको छ ।
अस्पतालले बिरामीलाई नियमितरुपमा सञ्चालित सेवाहरु दिँदै आएको छ । अस्पतालमा सञ्चालित सेवाका आधारमा विभिन्न रोग विशेषज्ञहरुद्वारा उपचार गरिदै आएको अस्पतालतका व्यवस्थापन शाखाले जानकारी दिएको छ ।