भिलासामा बीएचटीएम विद्यार्थीले पढ्दै, सिप सिक्दै र कमाउदै
झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, ६ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालयले सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटलिटी संग सहकार्य गरी ४ वर्षे ब्याचलर इन हस्पिटलिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम ) अध्ययन कार्यक्रम गरेको छ ।
विश्वविद्यालयले ल्याएको थप शैक्षिक कार्यक्रम बीएचटीएम अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक ज्ञान दिने आयोजकले जनाएको छ ।
बीएचटीएम अध्ययन गर्ने विद्यार्थीले पढ्दै, सिप सिक्दै साथै कमाउने अवसर समेत पाउनेछन् ।
बीएचटीएम डिग्रीबाट अझै धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने हेतुले संचालनमा ल्याएको आयोजक स्रोतले जनाएको छ ।
असोज ५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयमा र सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटलिटीले पत्रकार सम्मेलन गरी ब्याचलर इन हस्पिटलिटी एन्ड टुरिजम म्यानेजमेन्ट सकेपछि विद्यार्थीले सुपरभाइजरदेखि म्यानेजरसम्मको पदमा काम गर्न सक्षम हुने र कोर्स स्थानीय तथा वाह्य विद्यार्थीहरू, मध्यम आर्थिक अवस्था भएका तर लगनशील विद्यार्थीहरुलाई प्राथमिकता दिने सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।
ब्याचलर इन हस्पिटलिटी एन्ड टुरिजम म्यानेजमेन्ट अध्ययनका लागि विद्यार्थीलाई प्रवेश परीक्षा र अन्तर्वार्ताबाट छनौट गरी एउटा सेक्सनमा बढीमा ४० जना विद्यार्थी राखी अध्ययन अध्यापन गराइने छ ।
यस शैक्षिक कार्यक्रमका लागि पाठ्यक्रम सम्बन्धित विज्ञहरूसँग कार्यशाला गोष्ठी गरेर उहाँहरूको राय सुझाव र सल्लाह लिएर पाठयक्रम तयार गरिएको छ । ब्याचलर इन हस्पिटलिटी एन्ड टुरिजम म्यानेजमेन्ट कोर्सको लागत ७ लाख रहने र ६५ देखि ७० पैसा रकम विद्यार्थीले कोर्स सकाउने पूर्व नै विभिन्न होटल, रिसोर्ट, क्याफेमा परियोगिक कक्षा लिँदै कामबाट कमाउने सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनुभयो ।
यस कोर्सबाट अभिभावकहरुलाई आर्थिक व्यवभार कम हुने साथै विद्यार्थीलाई शैक्षिक कर्जा व्यवस्थाको पनि योजना बनाइएको छ ।
यस शैक्षिक कार्यक्रमको सहकारी अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पढ्नका लागि कर्जा प्रवाहका लागि बौद्ध विश्वविद्यालयले सहकार्य गर्ने र उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न सकिने योजना प्रमुख कार्यकारी अधिकृत न्यौपानको भनाई छ ।
ब्याचलर इन हस्पिटलिटी एन्ड टुरिजम म्यानेजमेन्ट कक्षा सञ्चालन मङ्सिर पहिलो हप्ता सिद्धार्थ भिलासा भैरहवामा हुने छ । सम्पूर्ण प्रयोगात्मक र कार्यगत तालिम होटल नै हुनेछ भने अध्ययन अध्यापन कार्य होटलको प्राङ्गणको छुट्टै भवनमा पुस्तकालय, स्टुडियो,ल्याब र प्रशासनिक क्रियाकलापहरू परियोजनामा कार्यसञ्चालन हुने प्रमुख कार्यकारी अधिकृत न्यौपानले बताउनुभयो ।
विद्यार्थीहरुलाई सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक बाटै प्रभावकारी सिकाई र मूल्याङ्कन गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेशमै टिकाइ राख्ने प्रमुख उद्देश्य रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीप्रसाद भट्टराईले बताउनुभयो।
भट्टराईका अनुसार हाम्रो चाहना भनेको अध्ययन पुरा गरिसकेपछि दक्ष जनशक्ति उत्पादन गर्नु हो। कतिपय विद्यार्थीहरू १२ कक्षा पुरा गरेपछि उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेशनुपर्ने अवस्था रहेको देखिन्छ यस कार्यमार्फत विद्यार्थीहरूलाई आफ्नै देशमा पढाउँदै कमाउँदै पाएपछि केही हदसम्म स्वदेशमै रोक्न सक्ने विश्वास रहेको छ ।
पहिलो सेमेस्टरमा प्राथमिक दोस्रो सेमेस्टरमा आधारभूत तेस्रो सेमेस्टरमा एडभान्स चौथो सेमेस्टरमा विशेषज्ञता पाँचौं सेमेस्टरमा अपरेसन छ्याटो सेमेस्टरमा व्यवस्थापक तालिम दिने छ भने होटेलका विभिन्न विभागहरूमा तालिम पढाउने र बाँकी अवधि अतिरिक्त काम गरी कमाउन सक्नेगरी पाठ्यक्रम तयार गरिएको छ ।