सम्मरीमाई, मङ्सिर ११ । सम्मरीमाई गाउँपालिकाको वार्ड नं ६ ले कुपोषित बालबालिकाको संख्या घटाउन विशेष अभियान सञ्चालन गरेको छ । असुरैना स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका क्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले कुपोषणमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष तौलन प्रसाद केवटले सरोकारवालाको सहकार्यबाट आफ्नो वार्डलाई कुपोषणमुक्त बनाउन सकिने दृढ विश्वास व्यक्त गर्नुभयो । उनले कुपोषण हटाउनका लागि दीर्घकालीन उपायहरू लागू गर्न योजना बनाइरहेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा सहयोगी संस्था सेतो गुराँस बाल विकास सेवा, रुपन्देहीले कुपोषण हटाउनका लागि २४ जना बालबालिकालाई “सुपर सेरेल +” पोषण आहार वितरण गरेको थियो ।
कार्यक्रममा असुरैना स्वास्थ्य चौकीका इन्चार्ज सुखनन्दन पाल, सेतो गुराँस बाल विकास सेवा, रुपन्देहीका फिल्ड सुपरभाइजर शेषनाथ यादव लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले कुपोषण हटाउन सामुदायिक जागरूकता, नियमित स्वास्थ्य परीक्षण, र पोषणयुक्त खानाको व्यवस्था गर्न जोड दिएका थिए । यो पहलले समुदायमा सकारात्मक प्रभाव पार्ने र कुपोषणमुक्त वार्ड निर्माणको लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ ।