logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पश्चिम नवलपरासीका उद्योगबाट निस्कने फोहोर रोक्न जसपाको प्रहरी प्रशासनलाई आग्रह


    १२ मंसिर २०८१ , बुधबार

    पश्चिम नवलपरासीका उद्योगबाट निस्कने फोहोर रोक्न जसपाको प्रहरी प्रशासनलाई आग्रह
    • ज्ञानेश्वर सहानी

    नवलपरासी, मङ्सिर १२ । पश्चिम नवलपरासीका उद्योगहरूले नदी तथा वातावरणमा फोहोर विसर्जन गरेर जनस्वास्थ्य र कृषि उपजमा असर पुर्याएको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) नवलपरासीले यस विषयमा तत्काल कदम चाल्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ । जसपाले हालको प्रहरी प्रशासनलाई इतिहासकै कमजोर भन्दै कडा आलोचना गरेको छ ।

    आज परासीमा आयोजित पत्रकार सम्मेलनमा जसपाले औद्योगिक फोहोर व्यवस्थापनमा प्रहरी र प्रशासनले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै जनताको माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

    जसपाका नवलपरासी अध्यक्ष धरेन्द्र यादवले फोहोर व्यवस्थापनको अभावले जनताको स्वास्थ्यमा नकारात्मक असर परेको र खेतीपातीमा समेत क्षति पुगेको बताए । यादवले भने, “हकुई र सनई हुँदै भारततर्फ बग्ने नदीमा उद्योगहरूले प्रदूषित पानी मिसाउँदा वातावरणीय संकट गहिरिएको छ । प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै कदम चालिएको छैन। सिडियोलाई औपचारिक र अनौपचारिक रूपमा जानकारी गराउँदा समेत उनीहरूले बेवास्ता गरेका छन् ।”

    पत्रकार सम्मेलनमा जसपाले नवलपरासी प्रहरी प्रशासनले जनताको हितभन्दा पनि राजनीतिक दलहरूको स्वार्थपूर्तिमा ध्यान दिएको आरोप लगाएको छ । यादवले प्रहरीलाई मुद्दा दर्ता गर्दा समेत राजनीतिक दबाबमा काम गरेको आरोप लगाउँदै भने, “पाल्हीनन्दन गाउँपालिका–४ मा झगडाको घटनामा प्रहरीले हुनेखाने वर्गको पक्षमा मात्र मुद्दा दर्ता गरेको छ भने पीडित वर्गको मुद्दा बेवास्ता गरिएको छ ।”

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रेशम बोहराले भने यस घटनामा उजुरी सनाखत भइसकेको र मुद्दा दर्ता प्रक्रिया अघि बढिरहेको बताएका छन् । जसपाले मधेशी जनतामाथि अनावश्यक चेकजाँच गरेर दुःख दिएको र तस्करलाई भने प्रहरीकै मिलेमतोमा छुट दिएको आरोप लगाएको छ। जसपाका नेताहरूले प्रहरी प्रशासनले गरिब किसानलाई दुःख दिने तर तस्करीलाई बढावा दिने कार्य गरेको दाबी गरेका छन् ।

    जनता समाजवादी पार्टीले प्रशासनलाई पुनः सचेत गराउँदै जनताको माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। जसपाले फोहोर व्यवस्थापन, जनस्वास्थ्य सुरक्षामा ध्यान दिन र प्रहरी प्रशासनलाई निष्पक्ष र जनमुखी बनाउन सरकारलाई दबाब दिने बताए ।

    उद्योगबाट निस्कने फोहोरले स्थानीय क्षेत्रमा पारेको असर र प्रहरी प्रशासनको भूमिकामाथि उठेका प्रश्नहरू समाधान गर्न सरकार र प्रशासनको गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ । जसपाको चेतावनीले यस विषयलाई चाँडै सम्बोधन गराउन दबाब दिने सम्भावना छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.