logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सरावलमा माघ १० देखि औद्योगिक व्यापार मेला हुनेः ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरूलाई प्रवेश निःशुल्क


    १२ मंसिर २०८१ , बुधबार

    सरावलमा माघ १० देखि औद्योगिक व्यापार मेला हुनेः ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरूलाई प्रवेश निःशुल्क

    नवलपरासी, मङ्सिर १२ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ बासाचोकमा माघ १० देखि माघ २१ गतेसम्म प्रथम सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । “कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ आयोजना हुने मेलाले स्थानीय उत्पादन प्रवर्द्धन गर्दै सरावलको पहिचान बढाउने लक्ष्य राखेको छ ।

    मेलाको संरक्षकत्व सरावल गाउँपालिकाले गर्ने र आयोजना उद्योग वाणिज्य संघ सरावलले गर्नेछ । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीले मेलाले स्थानीय उत्पादनलाई बजार दिनुका साथै सरावलको ऐतिहासिक स्थल र सांस्कृतिक धरोहरको जगेर्नामा योगदान पुर्याउने बताए। उनले भने, “मेलाले सरावलको पहिचान बढाउने र चिनाउने अपेक्षा राखेको छु ।”

    सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेका अनुसार मेलामा करिब ६ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने संघले जनाएको छ । मेलामा करिब १ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

    मेलामा विभिन्न मनोरञ्जनात्मक र सांस्कृतिक गतिविधिहरूको आयोजना गरिनेछ जसमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, “मम्मी डान्स” प्रतियोगिता, टोल विकास संस्थाहरूबीच खेलकुद प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, बाल उद्यान र झुलाहरूको व्यवस्थासमेत गरिनेछ ।

    मेलामा प्रवेशका लागि सामान्य टिकट दर ८० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूका लागि ५० रुपैयाँ टिकट दर राखिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    मेलाले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै भाषा, कला, र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । मेलाबाट आएको आम्दानीको ५% स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

    मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता–चप्पल, बैंक तथा बीमा कम्पनीहरू, महिला उद्यमीका उत्पादनहरू, र घरेलु उत्पादनहरूको स्टलहरू रहनेछन् । स्टल संयोजक देवराज राय थारुका अनुसार मेलाले स्थानीय र राष्ट्रिय स्तरका व्यापारिक गतिविधिहरूलाई एकै ठाउँमा जोड्नेछ ।

    प्रथम सरावल औद्योगिक व्यापार मेलाले सरावलको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.