logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मर्चवार लिफ्ट सिँचाइ र सामुदायिक वन उपभोक्ताको ३०औं वार्षिक साधारण सभा सम्पन्न


    १४ मंसिर २०८१ , शुक्रबार

    मर्चवार लिफ्ट सिँचाइ र सामुदायिक वन उपभोक्ताको ३०औं वार्षिक साधारण सभा सम्पन्न

    असलम खान


    मर्चवार, मङ्सिर १४ । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्था र मर्चवार सामुदायिक वन उपभोक्ता समूहको ३०औं वार्षिक साधारण सभा बिहीबार कोटहीमाई–५ स्थित संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका प्रमुख एवं सहभागीहरूले आर्थिक वर्ष २०८०÷८१ को आय–व्यय प्रस्तुत गर्दै क्षेत्रका विकासमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    मर्चवार लिफ्ट सिँचाइ आयोजनाका व्यवस्थापक विश्वनाथ आर्यका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २४ लाख ८९ हजार ६४ रुपैयाँ खर्च भएको छ । सोही अवधिमा २५ लाख ४५ हजार २१९ रुपैयाँ आम्दानी भएको जानकारी दिँदै उनले किसानहरूबाट पानी र सदस्यता शुल्कबाट ११ लाख ४७ हजार ३० रुपैयाँ आम्दानी भएको उल्लेख गरे । अन्य शीर्षकहरूमा ३ लाख १० हजार ३५ रुपैयाँ बक्यौता रहेको पनि आर्यले बताए ।

    मर्चवार सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट सोही आर्थिक वर्षमा १० लाख ३५ हजार ३१३ रुपैयाँ आम्दानी भएको र १० लाख २१ हजार ७२० रुपैयाँ खर्च भएको व्यवस्थापक आर्यले जानकारी गराएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व शिक्षा मन्त्री एवं प्रदेश सभा सदस्य वसीउद्दीन खाँनले मर्चवार लिफ्ट सिँचाइ आयोजनाले मर्चवार क्षेत्रको अर्थतन्त्रलाई मजबुत बनाएको बताए। मर्चवार क्षेत्रलाई पूर्णतः कृषि क्षेत्र भएको भन्दै उनले नहरलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

    “आगामी आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा मर्चवार लिफ्ट सिँचाइ आयोजनालाई प्रदेशको गौरव योजना अन्तर्गत समावेश गरिनेछ,” उनले भने ।

    विशिष्ट अतिथि तथा प्रदेश सभा सदस्य कन्हैया बनियाले मर्चवार लिफ्ट सिँचाइ आयोजनाको मर्मत तथा विस्तारका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । “निर्वाचन अघि नै सेमरा क्षेत्रसम्म पानी पु-याउन व्यक्तिगत लगानीमा नहर सरसफाई गरें,” बनियाले भने । उनले नहर मर्मत, मलखादको व्यवस्थापन, र अन्य विकास आयोजनामा स्थानीय, प्रदेश, र केन्द्रका निकायहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

    कार्यक्रममा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, र विभिन्न वडाध्यक्षहरूले मर्चवार क्षेत्रका समस्याहरू र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए ।

    संस्थाका अध्यक्ष नजीर अहमद खाँनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव जगन्नाथ प्रसाद कुर्मीले सञ्चालन गरेका थिए । सहभागीहरूले मर्चवार क्षेत्रका संरचना, सिँचाइ, र सामुदायिक वनको थप विकास र सुधारका लागि एकजुट हुने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.