मर्चवार, १४ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गहुँ जोन सञ्चालन समन्वय समिति पुनर्गठन भएको छ। रुपन्देही जिल्लाको परियोजना कार्यान्वयन एकाइद्वारा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो ।
नव गठित समितिको संयोजकमा कोटहीमाई–५ स्थित श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद कुर्मी चयन भएका छन् । वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले उक्त जानकारी गराउँदै समितिमा ३ महिला सदस्यसहित ९ जना सदस्य समावेश गरिएको बताए ।
गहुँ जोन कार्यक्रम मुख्यतः मर्चवार क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालन हुँदै आएको छ । पुनर्गठित समितिमा कृषि सहकारी संस्था र कृषक समूहका प्रतिनिधिहरू समावेश गरिएका छन् । स्थानीय तहबाट हरेक स्थानबाट ३ जना प्रतिनिधि चयन गरी समिति पुनर्गठन गरिएको हो ।
कृषि अधिकृत काफ्लेले समितिलाई गहुँ जोन क्षेत्रमा पूर्ण यान्त्रिकीकरण गर्न सहयोग पुर्याउन आग्रह गर्दै आधुनिक प्रविधि अपनाउनेतर्फ ध्यान दिन सबै सदस्यलाई प्रेरित गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनियाले यसअघि गठन भएको समितिले मर्चवार क्षेत्रमा कृषि कार्यालयहरूसँग समन्वय गरी उत्कृष्ट कार्य गरेको स्मरण गरे । नयाँ समितिले पनि गहुँ उत्पादन र परियोजना प्रभावकारिता बढाउन थप उपलब्धिमूलक कार्य गर्ने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि सुरज पाण्डेले गहुँ उत्पादन वृद्धि र लागत न्यूनीकरणमा अघिल्लो समितिले गरेको योगदानको प्रशंसा गरे । उनले नव गठित समितिले स्थानिय तह र अन्य सरोकारवालासँग सहकार्य गरी अझ उत्कृष्ट कार्य गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
संयोजक दुर्गा प्रसाद कुर्मीले परियोजना र कार्यक्रमका लक्ष्य प्राप्तिका लागि सबै सरोकारवालासँग सहकार्य गरी उपलब्धिमूलक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका क्रममा निवर्तमान समितिका सदस्यहरूलाई गहुँ जोन सञ्चालनमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
कृषि अधिकृत सौरज विश्वकर्माले कार्यक्रमको उद्देश्य र समितिको भूमिकाको विषयमा विस्तृत प्रस्तुति दिए । यो पुनर्गठनले गहुँ जोन कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।