डा. मनोज कार्की
- Consultant Endocrinologist
मधुमेह रिर्भसल वा क्योर (Reversal or Cure) भन्नाले मधमेहको निदान बुझिन्छ । मधुमेहमा स्थायीरूपले सधैको लागि निर्मूल भन्ने हुँदैन । केही समय यता मधुमेह Reversal अथवा मधुमेह निर्मूल पार्न सकिने जस्ताकुराहरु जुन सुन्दा आकर्षक लाग्ने तर लोकप्रियताको लागि सामाजिक संजालमा यसलाई गलत हिसाबले प्रयोग गरेको देखिन्छ ।
मधुमेह (Reversal or Cure) भन्नाले मधुमेहको निदान बुझिन्छ । मधुमेहमा स्थायीरूपले सधैको लागि निर्मूल भन्ने हुँदैन् । मधुमेह Remission को बारेमा जनमानस तथा केही स्वास्थ्यकर्मीमा पनि यो सम्बन्धी धेरै भ्रमहरु रहेको पाइन्छ । यस्तो हुुनुको मुख्य कारण सामाजिक संजाल मार्फत फैलिरहेको भ्रम, गलत सूचना र जनचेतनाको अभाव देखिन्छ ।
यस लेखको प्रमुख उद्देश्य मधुमेह Remission के हो ? यसको लोकप्रियता तथा यो सम्बन्धी भइरहेको प्रचार, यसको दुरुपयोग जस्ता विषय स्पष्ट पार्नु हो ।
मधुमेह Remission मा जाने अवस्थाहरुः
- गर्भ अवस्थामा मधुमेह (Gestational Diabetes): यो प्रायः बच्चा जन्मिए पछि सामान्यरूपमा सामाधान हुन्छ ।
- मोटोपनले गर्दा भएको मधुमेह, बिभिन्न तरिकाले तौल घटाएमा (जस्तैः शल्यक्रिया मार्फत (Bariatric Surgery), औषधी मार्फत, केही हदसम्म जीवनशैली सुधार गरेमा मधुमेह सामाधान गर्न सकिन्छ ।
- औषधीको जस्तै (Steroid) प्रयोगको कारण हुने मधुमेह, त्यसको प्रयोग रोक्नासाथ सामान्यता समाधान हुन्छ ।
मधुमेह Remission को विज्ञान वा रहस्य के हो?
यो Remission शब्द, केबल टाइप २ मधुमेहसँग सम्बन्धित छ । मोटोपन वा तौल धेरै हुँदा मधुमेह हुन्छ जसमा कलेजो, मांसपेसीमा बोसोपन जम्माभई दिन्छ, जसका कारण Insulin ले राम्रोसँग काम गर्न सक्दैन, यसलाई Insulin Resistance भनिन्छ । तसर्थ टाइप २ मधुमेहको सुरुवाती क्षणमा Insulin को कमी हुँदैन तर शरीरमा भइरहेको Insulin प्रभावकारी पनि हुँदैन । तौल घटाउँदा विशेष गरी कलेजो र मांसपेशीमा जम्मा भएको बोसोपन हट्दछ र सँगसँगै Insulin को कार्यक्षमता पनि सुधार आउछ । यसले ग्लुकोजको स्तर सामान्य अवस्थामा फर्काउन मद्दत गर्दछ जस्को कारण मधुमेह Remission को सम्भावना बढ्दछ ।
कस्तो अवस्थाको मधुमेहमा Remission को सम्भावना बढी छ ?
१. हालसालै मधुमेहको इतिहास छ भने
२. मधुमेहको सुरुवाती चरणमा ग्लुकोजको मात्रा अत्याधिक नभएको अवस्था
३. जसलाई मोटोपनाको कारणले मधुमेह रहेको हो ।
Remission भन्नाले के बुझिन्छ ?
वैज्ञानिक रूपमा रगतमा ग्लुकोजको स्तर कम्तीमा तीन महिनासम्म औषधीको साहारा बिना नियन्त्रित भएको अवस्थालाई मधुमेह Remission बुझिन्छ ।
यदि तपाईंले आफ्नो जीवनशैली परिवर्तन गरी तौललाई नियन्त्रित राख्न सफल भएको अवस्थामा यो Remission केही महिनादेखि वर्षसम्म कायम गर्न सकिन्छ । तर केही व्यक्ति विशेषले यो Remission शब्दको गलत परिभाषा प्रयोग गरी मधुमेह (Cure or Reversal) जस्ता शब्द प्रयोग गरी भ्रम फैलाइरहेको देखिन्छ । औषधी वा आहाराको पाठ्यक्रम समाप्त भएपछि के हुन्छ भन्ने सम्पूर्ण कथा सर्वसाधारणलाई थाहा हुँदैन । तसर्थ मधुमेह एक दीर्घकालीन रोग हो, यो केही महिनाको औषधीले निर्मूल हुने होइन । झुठा प्रतिज्ञाको पछि लागेमा आर्थिक नोक्सान र उपचारमा ढिलाईको कारणले जटिलताको जोखिम बढ्छ ।
लेखको सन्देश यो हो की मधुमेह Remission प्राप्त पछि, यसलाई महिनादेखि वर्षसम्म लम्ब्याउन सकिन्छ । यो अस्थायी हो र यो हाम्रो जीवनशैलीमा ध्यान नदिए पुनः मधुमेह देखा पर्दछ । रिर्भसल वा क्योर भनेको रोगको स्थायी अनुपस्थिति हो, जुन मधुमेहमा सत्य होइन ।
आफूले प्रयोग गरिरहेको औषधी चिकित्सकको सल्लाह सुझाव बिना विज्ञापन र सामाजिक संजालको भरमा बन्द नगरौं ।