पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, मंसिर २४। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तेस्रो अधिवेशन ओमसतिया गाउँपालिकामा भव्यरूपमा सम्पन्न भएको छ । पार्टीको नयाँ क्रान्तिकारी विचार र संगठन निर्माणलाई प्राथमिकतामा राख्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । अधिवेशनको क्रममा सल्लाहकार वडा प्रतिनिधिबाट पालिका स्तरीय ३५ सदस्यीय कार्यसमिति गठन गरिएको निर्वाचन मण्डलका संयोजक रुद्रप्रसाद शर्माले जानकारी दिए । उक्त समिति गठनमा महिला, दलित, जनजाति, र आदिवासी समुदायलाई विशेष प्राथमिकता दिइएको थियो ।
पालिका अध्यक्ष पदमा चन्नार प्रसाद यादव निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा फोटो मुसलमान, पार्वती चौधरी, र करन रसाइली चयन भएका छन् भने सचिवमा रामबहादुर गुरुङ निर्वाचित भएका छन् । सल्लाहकार इन्दल यादवले समितिका सबै सदस्यलाई निर्विरोध रूपमा चयन गरिएको जानकारी दिँदै समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएकामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र रूपन्देहीका जिल्ला संयोजक निर्मल जिसीले नवगठित समितिलाई शुभकामना दिंदै पार्टीको नीति र विचार अन्याय तथा अत्याचारको प्रतिरोध गर्नुमा केन्द्रीत रहेको बताए । उनले पार्टीका सिद्धान्तलाई आत्मसाथ गर्दै संगठनलाई थप बलियो बनाउन आग्रह गरे । प्रमुख अतिथिले समितिका सदस्यहरूलाई टिका लगाएर प्रमाणपत्र वितरण गरे ।
जेष्ठ कम्युनिस्ट मञ्चका वृद्ध नेता एवं निर्वाचन संयोजक रुद्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर १ का सचिव तथा वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले सञ्चालन गरेका थिए । लुम्बिनी प्रदेशका सचिवालय सदस्य लेखनाथ न्यौपाने र प्रदेश सदस्य प्रमोद कुमार यादवले आतिथ्य भूमिका निर्वाह गर्दै गठित कमिटी निर्माणमा सहजीकरण र योगदान पु¥याएको उल्लेख गरे ।
कार्यक्रमका अन्त्यमा वक्ताहरूले नवगठित समितिलाई बधाई र सफलताको शुभकामना दिएका थिए । जिल्ला पार्टी कार्यालयले क्षेत्रीयरूपमा सक्रिय कार्यकर्ता आकाश खान, सदा वृक्ष शुक्ला, र पार्वती पाण्डेलाई पदोन्नति गरिएको जानकारी दिएको छ ।