भैरहवा, मङ्सिर २७ । २३ औँ सामूहिक खेलकुद महोत्सव २०८१ को दोस्रो दिनका खेलहरू बिहीबार सम्पन्न भएका छन् । सामूहिक विद्यालय परिवार रूपन्देहीले आयोजना गरेको यस चार दिने महोत्सवमा १५ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता देखिएको छ । महोत्सवको उद्देश्य विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुत बनाउनु र उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्नु रहेको आयोजक टिमले जानकारी दिएको छ ।
महोत्सवको दोस्रो दिनमा एथ्लेटिक्स र भलिबल खेलहरू गरिएका थिए। पक्लिहवा कृषि क्याम्पसमा १०० मिटर दौड, रिले हिट्स, लङजम्प लगायतका एथ्लेटिक्स खेलहरू आयोजना भए, भने पक्लिहवा माविमा भलिबल खेल खेलेको थियो। यस महोत्सवमा सब जुनियर, जुनियर र सिनियर गरी तीन तहमा प्रतियोगिता आयोजित गरिएको थियो ।
महोत्सवको प्रमुख नाराअनुसार “स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद“ विद्यार्थीहरूलाई खेलकुदको महत्व र शारीरिक स्वास्थ्यको सन्देश दिइएको थियो । सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष वसन्त पाण्डेले भने, “२०५९ सालदेखि नै हामीले विद्यार्थीहरूको अन्तरदृष्टि र प्रतिभा विकासका लागि विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गर्दै आएका छौं । यस महोत्सवले हाम्रो उद्देश्यलाई पूरा गरेको छ ।’’
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र ओम सतिया गाउँपालिकाका २० विद्यालयहरूले सहभागिता जनाएका थिए । आगामी दिनहरूमा पचास मिटरदेखि आठ सय मिटर दौड, सय गुणे चार रिले दौड, लङजम्प र सटपुट जस्ता खेलहरू आयोजना हुनेछन् । यस खेल महोत्सवले विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा ठूलो योगदान पुर्याउनेछ भन्ने विश्वास आयोजकको छ ।
