logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पाल्हीनन्दन गाउँपालिकामा औषधि अभावः हाकिम र शाखा प्रमुखको चरम लापरवाही


    ३० मंसिर २०८१ , आइतबार

    पाल्हीनन्दन गाउँपालिकामा औषधि अभावः हाकिम र शाखा प्रमुखको चरम लापरवाही

    ज्ञानेश्वर साहनी/ नवलपरासी

    मंसिर २९ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र आधारभूत अस्पतालहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधि अभावका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको छ । यो अवस्था प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी र स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताको गैरजिम्मेवार र लापरवाह कार्यशैलीका कारण सिर्जना भएको हो ।

    पालिका अन्तर्गतका सातवटा स्वास्थ्य संस्थाहरूमा १० दिनदेखि सिटामोलजस्तो सामान्य औषधि पनि उपलब्ध छैन । यसले गर्दा उपचारका लागि आउने सेवाग्राहीहरू हात खाली फर्किन बाध्य छन् । लोहरौलीस्थित पाल्हीनन्दन आधारभूत अस्पतालमा उपचारका लागि आएका बिरामीले भने, “गरीबहरू उपचार गर्न अस्पताल जान्छौं, तर सिटामोलसमेत पाइँदैन ।’’

    स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले औषधि अभावबारे प्रतिक्रिया दिँदै जिम्मेवारी पन्छाउँदै भने, “मलाई थाहा छैन, यो हाकिमको काम हो। मैले औषधि खरिदका लागि पहिल्यै प्रस्ताव गरेको थिएँ, तर हाकिमले नमानेका कारण यस्तो भयो ।” यस्तै, प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीले समेत आफ्नो भूमिकाप्रति असंवेदनशील जवाफ दिएका छन्। उनले भने, “म यहाँ तलब र भत्ता खुवाउन मात्र आएको हुँ। औषधि व्यवस्थापनका लागि नयाँ हाकिमलाई जिम्मा दिन सुझाव दिइसकेको छु।“ उनले औषधि खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको र थप २० दिन लाग्ने बताएका छन्, तर अति आवश्यक औषधि तत्काल खरिद गर्न कुनै ठोस कदम नचालिएकोप्रति सेवाग्राही आक्रोशित छन् ।

    जिल्लाको स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउने र गाउँपालिकाले बजेट भए पनि खरिदमा ढिलाइ गर्ने प्रवृत्तिले स्थानीयलाई महँगो शुल्कमा निजी क्लिनिकमा उपचार गर्न बाध्य बनाएको छ । स्वास्थ्य चौकीका एक कर्मचारी सूर्यनारायण चौधरीले बताए, “सिटामोलजस्तो सामान्य औषधि पनि अभाव छ । एक महिना अघिदेखि माग भए पनि आपूर्ति हुन सकेको छैन ।” सेवाग्राहीहरूले गाउँपालिका र स्वास्थ्य चौकीले एक–अर्कालाई दोष देखाएर समस्या समाधान नगरेको आरोप लगाएका छन् । उनीहरूले भने, “सरकारले निःशुल्क औषधि दिन्छ भने कहाँ गयो त्यो औषधि? यहाँ स्वास्थ्य व्यवस्थासँग ठट्टा भइरहेको छ ।”

    पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधिहरू र सम्बन्धित अधिकारीहरूको चरम लापरवाहीका कारण गरीब र विपन्न वर्गको जीवनमा ठूलो असर परेको छ । सरकारको उद्देश्यप्रति गम्भीर अनादर गर्दै स्वास्थ्य सेवाको नाममा जनतालाई मारमा पारेको सेवाग्राहीहरूले आरोप लगाएका छन् । अब, पालिका र स्वास्थ्य शाखाका जिम्मेवार अधिकारीहरूले तत्काल कदम चालेर औषधिको उपलब्धता सुनिश्चित नगरे, यो लापरवाहीको कडा प्रतिवाद हुने चेतावनी स्थानीयहरूले दिएका छन् ।

    पाल्हीनन्दन गाउँपालिका अन्तरगत एक आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरी ७ वटा स्वास्थ्य संस्था रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.