logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पृथ्वीचन्द्र अस्पतालमा राजनीतिक हस्ताक्षेपः तीन वरिष्ठ डाक्टरले दिए राजीनामा


    २ पौस २०८१ , मंगलबार

    पृथ्वीचन्द्र अस्पतालमा राजनीतिक हस्ताक्षेपः तीन वरिष्ठ डाक्टरले दिए राजीनामा

    ज्ञानेश्वर सहानी/ नवलपरासी


    पुस २ । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पताल राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय बेथितीका कारण गम्भीर संकटमा परेको छ । अस्पतालका तीन जना वरिष्ठ विशेषज्ञ डाक्टरहरूले राजीनामा दिएपछि विभिन्न सेवा ठप्प हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

    गत श्रावण महिनादेखि नै नाक कान घाँटी विभाग प्रमुख डा. सरोज काफ्ले को राजीनामा पछि सो सेवा बन्द छ । त्यसैगरी, बाल रोग विशेषज्ञ डा. रोशन पौडेल को राजीनामा पछि बाल रोगसम्बन्धी सेवा ठप्प बनेको छ । हाड जोर्नी विभागका डा. सुदर्शन पाण्डेय को राजीनामाले हड्डीसम्बन्धी शल्यक्रिया सेवामा समेत असर परेको छ ।

    लुम्बिनी प्रदेशमै सबैभन्दा बढी प्रजनन रोग सर्जरी गर्ने यो अस्पताल अहिले कमजोर व्यवस्थापनको चपेटामा परिरहेको छ । सेवाको गिरावटसँगै बिरामीको संख्या दिन प्रतिदिन घटिरहेको छ । जहाँ पहिले ३५०–४०० बिरामी दैनिक आउँथे, अहिले त्यो घटेर १००–१५० मा झरेको छ । त्यसमध्ये धेरैजसो बिरामीहरू स्वास्थ्य बीमा र रेफरल लिएर अन्य स्वास्थ्य संस्थामा जाने गरेका छन् ।

    अस्पतालमा कार्यरत अन्य चिकित्सक र कर्मचारीहरू पनि असन्तुष्ट छन् । एक चिकित्सकले नाम नखुलाउने सर्तमा भने, “यहाँको राजनीतिक हस्तक्षेप असहनीय छ । आधारभूत सेवा र सुविधामा कटौती गरिएको छ । यस्तो वातावरणमा काम गर्न सम्भव छैन ।’’ “वरिष्ठ डाक्टरहरूको सेवा सुविधामा भएको कटौतीले उनीहरू राजीनामा गर्न बाध्य भएका हुन् । स्वास्थ्य मन्त्रालयको कार्यविधि विपरीत, सेवा सुविधासमेत दिन नमान्नु ठूलो समस्या हो ।

    डाक्टरहरूको अभावका कारण अस्पताल आउने बिरामीहरू अत्यन्तै मर्कामा परेका छन् । एक सेवाग्राहीले आक्रोश पोख्दै भने, “डाक्टर नहुँदा बाहिर उपचार गराउनुपरेको छ । गरीब किसानका लागि यस्तो उपचार खर्चिलो र गाह्रो छ । नेताहरूले अस्पताल सुधार गर्नुको सट्टा सरुवा रोक्ने–जस्ता स्वार्थी काममा समय बिताइरहेका छन् ।’’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुहोदा को सरुवा भएको एक महिना बितिसक्दा पनि जिम्मेवारी हस्तान्तरण नगरिएकोले व्यवस्थापन झन् कमजोर बनेको छ । मुख्यमन्त्री कार्यालयको निर्देशन समेत अटेरी गरिँदा, अस्पताल प्रशासन थप अस्तव्यस्त बनेको छ ।

    केही दिनअघि विधानविपरीत एक घण्टामै रमाना बनाइएका घटनाले अस्पताल व्यवस्थापनको लापरवाही र राजनीतिक हस्तक्षेप झन् उजागर गरेको छ । अस्पताल व्यवस्थापन समितिमा जसपा नेपाल को नेतृत्व रहेको छ । तर, निरन्तर राजनीतिक किचलो, हस्तक्षेप, र कमजोर व्यवस्थापनका कारण अस्पतालको सेवा गुणस्तर दिन प्रतिदिन खस्कँदै गएको छ । अस्पतालको सेवा पुनः गतिशील बनाउन र गुणस्तरीय उपचार सुनिश्चित गर्न तत्काल राजनीतिक हस्तक्षेप अन्त्य र प्रशासनिक सुधारको खाँचो देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.