असलम खान, मर्चवार ।
मर्चवार, पुस ७ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा स्वास्थ्य सेवा प्रणाली चरम लापरवाहीको सिकार भएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधिहरू स्थानीय स्वास्थ्य चौकीहरूमा पु¥याउन असफल हुँदा गर्भवती तथा सुत्केरी महिलाहरू लगायत सेवाग्राहीहरूले अत्यन्तै कष्टकर अवस्था भोग्नुपरेको छ ।
गाउँपालिकाको वडा नं. १ मा रहेको करौता आधारभूत स्वास्थ्य सेवाकेन्द्रमा आवश्यक औषधिहरू, जस्तै कैल्सियम, एमोक्सिसिलिन र गर्भवतीलाई दिने आयोनुनको चरम अभाव छ। चौकी इन्चार्ज शोभा यादवका अनुसार औषधिको आपूर्ति नियमित गराउन पटक–पटक माग गरे पनि पालिका र स्वास्थ्य शाखाले बेवास्ता गरेको छ। यसैगरी, बनगाई–२ मा रहेको करौता स्वास्थ्य चौकीमा सालबुटामोल, इम्प्लान्ट, एमोक्सिसिलिन ५०० एमजी लगायतका अत्यावश्यक औषधिको अभाव रहेको चौकी इन्चार्ज भीमलाल पौडेलले बताए ।
रोइनिहवा स्वास्थ्य चौकीमा एमोक्सिसिलिनका विभिन्न मात्रा (५०० एमजी, २५० एमजी, १२५ एमजी), सालबुटामोल ४ एमजी, मेट्रो, गर्भवती तथा सुत्केरीका लागि आवश्यक घ्यू, आयोनुन र अण्डा समेत उपलब्ध छैन। चौकीका एक स्वास्थ्यकर्मीले नाम नबताउने शर्तमा भने, “हामीले बारम्बार औषधि माग गरेका छौं, तर पालिकाले कुनै पहल गर्दैन। बिरामीलाई हात खाली फर्काउनु पर्छ ।” बेतकुइया स्वास्थ्य चौकीमा समेत उस्तै समस्या छ। कैल्सियम, एमोक्सिसिलिन र सालबुटामोलजस्ता अत्यावश्यक औषधिको अभाव रहेको चौकी इन्चार्ज केशव ढकालले बताए। असुरैना स्वास्थ्य चौकीका इन्चार्ज शुखनन्दन पालका अनुसार हयोसिन १० एमजी, एमोक्सिसिलिनका सबै मात्रा, घ्यू, र आयोनुन अभावले गर्भवती तथा सुत्केरी महिलाहरूलाई थप जोखिम भएको छ। फरेना स्वास्थ्य चौकीमा पनि कैल्सियमको अभावले गर्भवती र सुत्केरी महिलाहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले यस समस्याको दोष चौकी इन्चार्जहरूको लापरवाहीमा थोपर्दै भने, “हामीसँग स्टोरमा पर्याप्त औषधि छ। तर, इन्चार्जहरूले माग गर्दैनन् ।” यो भनाइसँगै उनले आफ्नो जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् । यद्यपि, चौकीका इन्चार्जहरूले स्वास्थ्य शाखाले औषधि दिनै नमानेको आरोप लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले औषधि खरिद प्रक्रिया पूरा भएको र केही दिनमै समस्या समाधान हुने दाबी गरे । तर, यो समस्या तत्काल समाधान नहुँदा सेवाग्राहीहरू निजी क्लिनिकमा महँगो शुल्क तिरेर औषधि किन्न बाध्य भएका छन् ।
रोइनिहवा स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका एक सेवाग्राहीले भने, “हामीले अस्पताल जाँदा सिटामोल पनि पाउँदैनौं। स्वास्थ्य चौकीले पालिकालाई देखाउँछ, पालिकाले स्वास्थ्य चौकीलाई। यो दुवैको खेलवाड हो।” एक गर्भवती महिलाले गुनासो गरिन्, “हामी गरीब जनताका लागि सरकारले निःशुल्क औषधि दिने भने पनि यहाँ त पैसा तिरेर पनि औषधि पाइँदैन। स्वास्थ्य संस्थामा केही पनि छैन।”
सम्मरीमाई गाउँपालिकामा तीन बर्थिङ सेन्टर, एक आधारभूत स्वास्थ्य सेवा केन्द्र, र सातवटा स्वास्थ्य चौकी रहेका छन्। यी स्वास्थ्य संस्थाहरूमा औषधि अभावले सेवाग्राहीहरूको जीवन जोखिममा परेको छ । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो समस्यामा स्वास्थ्य शाखा, पालिका प्रशासन र सम्बन्धित निकायले तत्काल समाधान गर्नुपर्छ। औषधि आपूर्तिको सुनिश्चितता नभएसम्म सरकारले दिएको निःशुल्क स्वास्थ्य सेवा योजनाले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन। सेवाग्राहीहरूले गाउँपालिकाको यस्तो उदासीनताले आफ्नो जीवनमाथि खेलवाड भएको महसुस गरेका छन्।
यो समस्या केवल औषधि अभावको मात्र होइन, यो स्वास्थ्य प्रणालीको व्यवस्थापकीय असफलता हो। यदि पालिका प्रशासन र स्वास्थ्य शाखा जिम्मेवार बन्ने हो भने सेवाग्राहीहरूलाई यस्ता समस्या झेल्नुपर्दैन। स्थानीय तहले आफ्नो भूमिका गम्भीरतापूर्वक निर्वाह नगरेसम्म जनताले सरकारी स्वास्थ्य सेवामा विश्वास गर्न कठिन हुनेछ।