logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीको शान्ति क्षेत्रमा अशान्तिः स्थानीय माथि प्रहरीको बल प्रयोग


    ८ पौस २०८१ , सोमबार

    लुम्बिनीको शान्ति क्षेत्रमा अशान्तिः स्थानीय माथि प्रहरीको बल प्रयोग

    लुम्बिनी, पुस ८ । शान्तिका प्रतीककारूपमा चिनिएको लुम्बिनी क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। लुम्बिनी विकास कोषसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच भीषण झडप भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दा महिलासहित धेरै घाइते भएका छन् ।

    लुम्बिनी बचाउ महाअभियानको अगुवाइमा स्थानीयले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै १२ बुँदे सम्झौताको कार्यान्वयन माग गरेका थिए। ति मागमा मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठको अनुमति, अदालतको आदेशविपरीत लगाइएको प्रवेश शुल्क खारेज, र उत्खननबाट प्राप्त पुरातात्विक सामाग्री लुम्बिनीमै पुनर्स्थापना गरिनुपर्ने विषय समावेश छन्। प्रदर्शनकारीहरूले कोषले सम्झौतामा सहमति जनाए पनि त्यसलाई अमलमा नल्याएको भन्दै असन्तोष व्यक्त गरे। प्रदर्शनकारी महिलाहरूले शान्तिपूर्ण रूपमा कार्यालय घेराउ गरिरहेका बेला प्रहरीले बल प्रयोग गरेको आरोप लागेको छ।

    प्रहरीले प्रदर्शनकारीलाई कार्यालय परिसरबाट हटाउन लाठीचार्ज गरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो। महिलाहरूलाई धकेलिँदा चोटपटक लागेपछि स्थानीय आक्रोशित बने। झडपका क्रममा स्थानीयले ढुंगामुढा गरेका थिए भने प्रहरीले प्रदर्शनकारीलाई बल प्रयोग गरी हटाएको थियो।

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले प्रहरीमाथि प्रदर्शनकारी महिलामाथि दमन गरेको आरोप लगाए। उनले भने, “सम्झौता कार्यान्वयनको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा पनि प्रहरीले दमन ग¥यो। यो सह्य छैन। यदि सम्झौता कार्यान्वयन भएन भने अब कडा आन्दोलन हुनेछ।’’ उनले मायादेवी मन्दिरमा परम्परागत पूजापाठ गर्न रोक लगाइएको, अदालतको आदेशविपरीत प्रवेश शुल्क लगाइएको र पुरातात्विक महत्वका सामाग्रीको उचित व्यवस्थापन नगरिएकोप्रति आपत्ति जनाए।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भने प्रदर्शनका क्रममा बल प्रयोग नगरिएको दाबी गरेका छन्। उनले भने, “कार्यालय परिसरमा भीड नियन्त्रण गर्न मात्रै प्रदर्शनकारीलाई बाहिर निकालेको हो। कुनै बल प्रयोग गरिएको छैन।’’

    झडप पछि क्षेत्रका स्थानीय थप आक्रोशित भएका छन्। लुम्बिनी विकास कोषको भूमिका र सम्झौताको कार्यान्वयनमा देखिएको ढिलाइले लुम्बिनीको शान्त वातावरणमा असर परेको उनीहरूको भनाइ छ। यस घटनाले लुम्बिनीको शान्तिका प्रतीककारूपमा रहेको क्षेत्रलाई थप विवादास्पद बनाएको छ। स्थानीयले आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.