भैरहवा, १० पुस । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको प्रायोजनमा साई ग्लोबल कप–२०८१ (जिल्लास्तरीय अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता) भोलिदेखि सुरु हुँदैछ। पुस ११ देखि २६ गतेसम्म चल्ने यो प्रतियोगिता सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुनेछ।
रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारीका अनुसार यस वर्षको प्रतियोगितामा ३२ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीले सहभागी हुन ८ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्ने छ। नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताका विजेताले रु. ५५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेतालाई रु. २५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। प्लेयर अफ द म्याचलाई रु. १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र दिइनेछ। बेस्ट बलर र बेस्ट ब्याटरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। साई ग्लोबल कलेजका अध्यक्ष दिनेश मान अमात्यले यस वर्ष प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए। प्लेयर अफ द म्याचलाई २५%, बेस्ट बलर र ब्याटरलाई ५०%, र म्यान अफ सिरिज तथा फाइनल विजेता टोलीका कप्तानलाई १००% छात्रवृत्ति उपलब्ध गराइनेछ।
प्रतियोगिताको उद्घाटन पुस ११ गते बिहान ८ बजे लुम्बिनी प्रदेश सदस्य हेमा बेल्बासे के.सी.को प्रमुख आतिथ्यतामा हुनेछ। पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगितालाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएका छन्। नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताले रुपन्देहीलाई क्रिकेटको हब बनाउने र नयाँ प्रतिभा पहिचान गर्ने अवसर प्रदान गर्ने बताए। गत वर्षको साई ग्लोबल कपको विजेता न्यू होराइज मावि रहेको स्मरण गर्दै आयोजकले यस वर्षको प्रतियोगिता अझ रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन्।