ज्ञानेश्वर सहानी/ नवलपरासी
पुस ११ । पश्चिम नवलपरासी जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय प्रगति गर्दै पाँच महिनामा ४३ लाख ४९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा ३७१३ सवारीसाधनलाई कारबाही गरिएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख अमृत भण्डारीका अनुसार, साउनदेखि मंसिर महिनासम्म राजस्व संकलनमा क्रमिक वृद्धि हुँदै आएको छ। साउन महिनामा ९ लाख ६२ हजार, भदौमा ७ लाख ८३ हजार ५००, असोजमा ७ लाख २६ हजार ५००, कार्तिकमा ७ लाख ६८ हजार ५०० र मंसिरमा ११ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
प्रहरीको तथ्याङ्क अनुसार, पहिलेको तुलनामा सवारी दुर्घटनामा उल्लेखनीय कमी आएको छ। सरकारको सवारी दुर्घटना न्यूनीकरण नीति र ट्राफिक प्रहरीको कडाइले यो सम्भव भएको जनाइएको छ।
मुख्य रूपमा मापसे नियन्त्रण, ट्राफिक नियमको पालना, र सवारीसाधनको क्षमता नाघेर यात्रु नबोक्नेजस्ता उपाय लागू गरिएको छ। चेतनामूलक कार्यक्रमहरूमार्फत पैदल यात्रु, विद्यार्थी र चालकहरूलाई ट्राफिक नियम पालना गर्न अभिप्रेरित गरिएको प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार, पर्चा वितरण, स्टिकर टाँस, होर्डिङ बोर्ड जडान, र चालक–सहचालकलाई प्रशिक्षणजस्ता कार्यक्रमले दुर्घटनामा कमी ल्याउन मद्दत पु¥याएको छ।
जिल्लामा ४१ जना ट्राफिक प्रहरी कार्यरत छन्, जसले ५३१ किलोमिटर सडक क्षेत्रको जिम्मेवारी सम्हालिरहेका छन्। मुख्य सडकहरूमा ज्यामिरे पुलदेखि दाउन्नेसम्म ३२.५ किलोमिटर र हुलाकी सडक भुमहीदेखि भैरहवासम्म २९ किलोमिटर क्षेत्र फैलिएको छ। “ट्राफिक व्यवस्थापनका लागि प्रहरीको मात्र प्रयास पर्याप्त हुँदैन,” प्रमुख भण्डारीले भने, “स्थानीय तह, समुदाय र सबै सरोकारवालाको सहकार्य आवश्यक छ।” सवारीसाधनको चाप, सीमित जनशक्ति, र साँघुरा सडक ट्राफिक व्यवस्थापनका प्रमुख चुनौतीका रूपमा रहेको ट्राफिक कार्यालयले जनाएको छ।
जिल्लाका भुमही चोक, बर्दघाट, सुनवल र परासी ट्राफिक पोष्ट अगाडि दुर्घटनाको जोखिम उच्च छ। यी क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ। “यहाँ मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखिन्छ,” प्रमुख भण्डारीले भने, “यसलाई नियन्त्रण गर्न मापसे जाँचलाई अझ कडाइ गरिनेछ।” दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ६७० स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको छ। थप रूपमा, छड्के जाँच, उच्च गतिका सवारीसाधनमा निगरानी, र दैनिक सचेतनामूलक कार्यक्रममार्फत ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयास भइरहेको छ।
दुर्घटनाको मुख्य कारणमा तीव्र गति, मापसे, ट्राफिक नियमको उल्लङ्घन, र सवारीसाधनको चाप परेका छन्। विशेष गरी टिप्पर, जीप, स्कुटर र मोटरसाइकल दुर्घटनामा बढी संलग्न देखिएका छन्। “सवारीसाधनको चाप दैनिक बढिरहेको छ, तर ट्राफिक व्यवस्थापनका लागि सीमित जनशक्ति भएकाले कठिनाइ भएको छ,” भण्डारीले थपे।
जिल्लामा ट्राफिक व्यवस्थापनका लागि सरोकारवालाहरूले विशेष रणनीतिका साथ समन्वय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।