लुम्बिनीखबर
भैरहवा, पुस। भैरहवमा अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ।
अस्पताल दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गर्न लागिएको अस्पतालका सञ्चालक अर्जुन पौडेलले बताए।
साढे एक अर्ब रुपैयाँ लगानीमा ०८३ साल बैशाखदेखि अस्पताल संचालन ल्याईने पौडेलको दावी छ ।
आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ अमेरिकाको नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा। सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का, रुपन्देहीमा १० वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेलले बताए ।
पौडेलका अनुसार रुपन्देहीकै कृष्ण खड्का र केशवराज ज्ञवाली लगायतको टिमले क्यान्सर अस्पताल निर्माण गर्न लागेका छन्। अस्पताल संचालनमा आएपछि आम मानिसहरुले क्यान्सर रोगलाई लिएर भौतारिनु पर्ने समस्या समाधान हुने पौडेलको भनाइ छ ।
क्यान्सर रोग उपचारको लागि अत्याधुनिक उपकरण लिनियर एक्सिलेटरको सुविधासहित सञ्चालन हुने अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल रहने जनाईएको छ । अस्पतालका संचालक पौडेलका अनुसार अस्पताल भवन निर्माणको लागी नक्सांकन र वातावरणीय प्रभाव मुल्यांकनको काम भइसकेको छ ।
पौडेलकी आमा सुमित्रा उपाध्यायको ०७७ मा क्यान्सर रोगकै कारण निधन भएको थियो । क्यान्सर रोगको उपचार पद्धती भित्रयाने उद्देश्यका साथ सम्भावयता अध्ययन गर्न थाइल्याण्ड, बंगलादेश, भारत र अमेरिका मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालमा पुगेर अध्ययन गरेपछि स्वर्गीय आमाको नामबाट अस्पताल निर्माण तयारी थालेको पौडेलले बताए ।
भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालकै एउटा अंगको रुपमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागिएको उनले बताए। सिद्धार्थनगर सिटी हस्पिटलसँग सहकार्य गरी यस अस्पतालले कार्य गर्ने बताईएको छ। पश्चिम नेपालमा क्यान्सर रोगको उपचारलाई कठिनाइ भएको महसुस गर्दै क्यान्सर रोग सम्बन्धि सबै उपचार हुने गरी अस्पताल संचालनमा ल्याउन थालिएको अस्पतालका अर्का संचालक हरि खत्रीले बताए ।
क्यान्सर रोगका विरामीहरुलाई लामो दुरीका अस्पतालमा गएर उपचार गराउन समस्या परेको विषयलाई पनि मध्यनजर गर्दै अस्पताल निर्माणको योजना बनाईएको अस्पतालका अर्का संचालक डा. सागर पोखरेलले बताए । अझै पनि क्यान्सर रोगको उपचारका लागि नेपालका पश्चिम क्षेत्रका नागरिकहरु काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा क्यान्सर रोगबाट परिवारको सदस्य गुमाएका तथा क्यान्सर पीडित परिवारले पनि लगानी गर्न मिल्ने गरि उच्च प्राथमिकतामा राखिएको लगानीकर्ताहरुको भनाइ छ ।