logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवा नाका हुँदै भित्रिए १९७ देशका साढे ९२ हजार पर्यटक


    २२ पौस २०८१ , सोमबार

    भैरहवा नाका हुँदै भित्रिए १९७ देशका साढे ९२ हजार पर्यटक
    oppo_0

    लुम्बिनीखबर

    भैरहवा, २२ पुस । रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन् ।

    अध्यागमन कार्यालय, बेलहियाको तथ्यांकअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको संख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलंकन छन् । त्यसपछि थाइल्याण्डबाट २१ हजार ३ सय ९७, म्यान्मारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार ६ सय ८० जना छन् ।

    अफगानिस्तान, बंगलादेश, अन्दोरा, बहराइन, बरवादोस, ब्रुनाइ, कंगो, क्युवा, एरिटिया, हाइटि, हन्डुरास, इभोरिकोस्ट, कार्जिस्तान, लिथुनिया, ताजकिस्तान, युगिस्लाभिया, सुडान, सिरिया, सेनेगल, स्कोटिश, पयासबसुफ, पाकिस्तान, मोजामिक राष्ट्रबाट भने आगमन शुन्य छ ।

    सन् २०२४ मा यस नाकाबाट आएको यो पर्यटकको संख्या बिगत पाँच बर्षपछिको सर्वाधिक हो । सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने गरेको मुख्य नाका हो । पर्यटक आवागमनको हिसावले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठूलो हो ।

    सन् २०१९ मा १ लाख ६१ हजार ६ सय १९, सन् २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा ८ सय १२, सन् २०२२ मा २० हजार २ सय २० र सन् २०२३ मा ८१ हजार ५ सय ५१ पर्यटक आएका थिए ।

    चिनियाँ नागरिक तथा पर्यटकको आगमन भने यस नाकाबाट बिगत चार बर्षदेखि शुन्य छ । कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले सन् २०२१ देखि यस नाकाबाट चिनियाँ पर्यटकको आगमन शुन्य भएको बताए । त्यसअघि २०२० मा ८ सय १३, २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ पर्यटक भित्रिएका थिए ।

    यस नाकाबाट आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । त्यसपछिको गन्तब्य पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौं, सौराहा हुन् । मुख्य गन्तब्य स्थल लुम्बिनीमा पर्यटकको बसाइँ अवधि बढ्न सकेको पाइँदैन । अधिकतम २ रात भन्दा बढी पर्यटक बसेका छैनन् ।

    ‘पासपोर्ट होल्डरहरु दश प्रतिशत हाराहारीमा उही दिन फर्किने गरेको पाइएको छ’, अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायण पाण्डेले भने, ‘उनीहरू लुम्बिनीमा पाइला टेकेर त्यहीबाट फर्कने गरेका छन् ।’ बेलहिया नाकाबाट भारतीय पर्यटकको आगमन उच्च छ । तर, भारतीयहरुलाई भिसा लगाउन नपर्ने भएकाले उनीहरुको तथ्यांक अध्यागमनले राख्दैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.