रमा पन्थी/लुम्बिनीखबर
देवदह, पुस २४ । जाडो महिनामा विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले देवदह–६, शरणबारीस्थित श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्रेकसुट वितरण गरेको छ। बुधबार आयोजित यस कार्यक्रममा क्लबले समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
लियो सन्दीप कसौधनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ ‘पी’ का गभर्नर एमजेएफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग रहेका थिए। कार्यक्रममा डिस्ट्रिक्टका द्वितीय भाइस गभर्नर लायन सन्दीप कसौधन, लियो डिष्ट्रिक्ट काउन्सिल प्रेसिडेन्ट लियो श्रद्धा कुँवर, वडा नं. ६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक लियो अभिषेक सापकोटाले जानकारी दिएअनुसार, विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष सन्दीप कसौधनले उपस्थित अतिथि, विद्यार्थी र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै, क्लबले सामाजिक क्षेत्रमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । लियो क्लबको यो प्रयासले विद्यालयका विद्यार्थीहरूलाई जाडो महिनामा सहजरूपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
