पशुपति यादव/लुम्बिनीखबर
रोहिणी, पौष २४ । रूपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा चिसो मौसमलाई मध्यनजर गर्दै ३०० जेष्ठ नागरिकलाई राहतस्वरूप न्यानो कम्बल वितरण गरिएको छ। वडाध्यक्ष वीरबहादुर क्षेत्रीका अनुसार वडाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजित वडा स्तरीय बजेटबाट ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो।
कार्यक्रममा वडाध्यक्ष क्षेत्रीले जेष्ठ नागरिकलाई सम्मान गर्दै भने, “यो सम्मान मात्र होइन, उहाँहरूको आशीर्वाद प्राप्त गर्ने अवसर पनि हो। यसले हामीलाई अझ लगनशील भएर काम गर्न प्रेरित गर्छ।’’ सम्मानित जेष्ठ नागरिक रामचन्द्र मिश्रले वडा कार्यालयको यो प्रयासप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्तै रचनात्मक कार्यक्रमले जेष्ठ नागरिकको सम्मान जारी राख्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा रोहिणी–३ का सदस्यहरू नीमबहादुर घर्ती, जुद्ध प्रकाश चौधरी, बेचनी पासी, कविता गौड, सामाजिक अभियन्ता विजय प्रकाश उपाध्याय, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। वडा सचिव पूर्णिमा घिमिरेले कार्यक्रमबारे जानकारी दिँदै स्थानीय सरकारको यो कदमले सामाजिक एकता र सम्मानको भावना अभिवृद्धि गरेको बताइन्।
