ज्ञानेश्वर सहानी/नवलपरासी
पुस १४ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद काहार घुस लिएको अभियोगमा अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले बुधबार उनीहरूलाई विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग ६५ हजार रुपैयाँ माग गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
प्रवक्ता नरहरी घिमिरेले टोलीले बिहानैदेखि निगरानी गरिरहेको जानकारी दिए। “हाम्रो टोलीले सेवाग्राहीसँग घुस लिइरहेको पुष्टि भएपछि लेखापालको कार्यकक्षमै छापा मारेर उनीहरूलाई पक्राउ ग¥यौं,” घिमिरेले भने। पक्राउ परेका गुप्ता र काहारलाई थप अनुसन्धानका लागि अख्तियारको बुटवल शाखामा राखिएको छ। “कागजी प्रक्रिया पूरा गरी बिहीबारसम्म केन्द्रीय कार्यालय पठाइनेछ,” प्रवक्ता घिमिरेले भने। “त्यहाँबाट मुद्धा अघि बढ्नेछ र अदालतले अन्तिम निर्णय गर्नेछ।” रंगेहात पक्राउ परेका कर्मचारी र सदस्यको जागिर जाने निश्चित रहेको घिमिरेले बताए। “अदालतको फैसलाका आधारमा उनीहरूलाई थप कारबाही हुनेछ,” उनले भने।
विद्यालयजस्तो शैक्षिक संस्थामा देखिएको भ्रष्टाचारप्रति स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। यस्तो घटनाले शिक्षाको प्रतिष्ठामा आँच पु¥याउने उनीहरूको भनाइ छ। अख्तियारको सक्रियताले भ्रष्टाचारविरुद्धको सन्देश प्रवाह गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्। यस्ता कदमले सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउने विश्वास गरिएको छ।