राेहिणी, २५ पुस । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नापजाँच कार्य सुरु भएको छ। बुधबार एक विशेष कार्यक्रमका बीच वडा अध्यक्ष तारानाथ यादवको अगुवाइमा नापजाँच कार्यको औपचारिक सुरुवात गरिएको हो। गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण अभियानलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन्। “वर्षौँदेखि आफ्नो जग्गा भए पनि लालपूर्जा नपाएका नागरिकहरूले अब जग्गा प्रमाणित गर्ने कानुनी अधिकार पाउनेछन्,” उनले भने। अध्यक्ष यादवका अनुसार आफू निर्वाचित भएपछि जनतालाई गरेका वाचाहरूलाई पूरा गर्ने क्रममा लालपूर्जा वितरण अभियान तीव्र पारिएको हो।
नापी कार्यालयबाट खटिएको नापी टोलीले वडा नम्बर ४ अन्तर्गतका गाउँ ब्लक क्षेत्रको नापजाँच गर्नेछ। यस क्रममा अध्यक्ष यादवले स्थानीयबासीलाई नापी टोलीलाई सहयोग गर्न आग्रह गरेका छन्। “गाउँ ब्लकमा रहेका धेरै नागरिक लालपूर्जाविहीन हुनु गम्भीर समस्या हो। तर, अब यो समस्या समाधानतर्फ अघि बढ्दैछ,” अध्यक्ष यादवले भने।
रोहिणी गाउँपालिकाले यसअघि वडा नम्बर ३ अन्तर्गतका गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरिसकेको छ। २०८१ साल असोज २० गते आयोजित कार्यक्रममा ४५० लालपूर्जा वितरण गरिएको थियो। यसले अन्य वडाका नागरिकहरूलाई पनि लालपूर्जा पाउने विश्वास दिलाएको छ। लालपूर्जा वितरणले जग्गाको स्वामित्व प्रमाणित गरेर नागरिकलाई कानूनी र प्रशासनिक रूपमा सजिलो हुने अपेक्षा गरिएको छ। यस अभियानले दीर्घकालीन रूपमा सम्पत्ति व्यवस्थापनलाई सुव्यवस्थित बनाउने र नागरिकका समस्याहरू समाधान गर्ने विश्वास स्थानीय प्रशासनले व्यक्त गरेको छ।
रोहिणी गाउँपालिकाले लालपूर्जा वितरणलाई आगामी दिनमा थप व्यापक बनाउने योजना बनाएको छ। यस कदमले लामो समयदेखि प्रशासनिक अन्योलमा रहेका नागरिकहरूलाई राहत मिल्नेछ।
