भैरहवा, पुस २६ । कञ्चन गाउँपालिकाले “तरकारी मूल्य श्रृंखला परियोजना’’ लागू गर्ने भएको छ। यसका लागि कञ्चन गाउँपालिका, हेफर इन्टरनेसनल, र सेतो गुराँस बालविकास संस्था रुपन्देही बीच विशेष कार्यक्रमका बीच सम्झौता सम्पन्न भएको हो । यस परियोजनाले कञ्चन गाउँपालिकाका कृषकलाई तरकारी उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कञ्चन गाउँपालिकालाई तरकारी हबका रूपमा विकास गर्न, संकलन, प्रसोधन र बजारीकरण मार्फत रोजगारी सिर्जना गर्दै गरिबी निवारण गर्नु मुख्य उद्देश्य हो। प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले यो परियोजना गाउँपालिकाको कृषि क्षेत्रको उत्थान र व्यवसायीकरणलाई केन्द्रित गरेर अघि बढाइएको बताए।
परियोजनाको कुल लागत २ करोड ८० लाख ३६ हजार रहेको छ। कञ्चन गाउँपालिकाले १ करोड ३७ लाख ६० हजार र हेफर इन्टरनेसनलले १ करोड ४२ लाख ७३ हजार लगानी गर्नेछन्।
परियोजनाको समयावधि २६ महिना तोकिएको छ। जलवायु मैत्री कृषि प्रविधिको प्रयोगले गुणस्तरीय उत्पादनमा वृद्धि हुने र किसानहरूको प्राविधिक क्षमता अभिवृद्धि गराई उनीहरूलाई प्रभावकारी ढंगले काम गर्न प्रेरित गर्ने परियोजनाको मुख्य लक्ष्य हो। हेफर इन्टरनेसनलका अनुसार यो परियोजनाले कृषि प्राविधिकहरूको दक्षता विकासमा सहयोग पुर्याउनेछ। यो प्रयासले कञ्चन गाउँपालिकालाई तरकारी उत्पादनको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।