logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    शीतलहरको असरलाई कम गर्न लुम्बिनी वडा नं.–१० को सराहनीय प्रयास


    ७ माघ २०८१ , सोमबार

    शीतलहरको असरलाई कम गर्न लुम्बिनी वडा नं.–१० को सराहनीय प्रयास

    अन्जना चौहान/लुम्बिनी


    माघ ७ । तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.–१०, मधुबनी कार्यालयले जेष्ठ नागरिकहरूलाई राहत दिन सराहनीय कदम चालेको छ। वडाले एक कार्यक्रम आयोजना गरी ४२० जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख कल्पना हरिजनले चिसोको मौसमी प्रभावबाट बच्न नगरपालिका र वडास्तरबाट राहत वितरण कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले विशेष गरी वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्य र सुरक्षामा ध्यान दिन नगरपालिकाले निरन्तर पहल गरिरहेको उल्लेख गर्नुभयो।

    वडाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले हाल तराईका जिल्लाहरूमा चिसोले स्वास्थ्य समस्याहरू तीव्र रूपमा बढाएको जानकारी दिनुभयो। “शीतलहरका कारण रुघाखोकी, ज्वरो, टाउको दुखाइ, दम, र झाडापखाला जस्ता समस्या देखापरेका छन्। यस अवस्थाले स्वास्थ्य क्षेत्रलाई चुनौती थपेको छ ।’’ उहाँले भन्नुभयो । उहाँले सबैलाई न्यानो कपडा लगाउन, पानी तताएर पिउन, र अत्यधिक चिसोमा घरबाहिर नजान सुझाव दिनुभयो ।

    कार्यक्रममा वडा नं.–१० का वडा अध्यक्ष विनोद कहाँरले अध्यक्षता गर्नुभएको थियो। वडाका कर्मचारी, वडा सदस्य, र स्थानीय नागरिकहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। तराई क्षेत्रमा बाक्लो हुस्सु र शीतलहरले स्थानीय जनजीवन कष्टकर बनाइरहेका बेला वडाले गरेको यो पहल स्थानीयस्तरमा निकै प्रशंसनीय भएको छ। कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले कम्बल वितरण र सम्मानको लागि वडा कार्यालयप्रति आभार व्यक्त गरे।

    चिसो मौसमले विशेष गरी बिहान र बेलुका जनजीवनलाई बढी प्रभावित पारेको छ। स्थानीय स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढिरहेको छ भने न्यानो कपडाको अभावले समस्या झनै जटिल बनेको छ। यस अवस्थामा वडाको यस्तो कदमले जाडोबाट प्रभावित नागरिकलाई राहत दिएको छ। कार्यक्रमको समापनमा वडा कार्यालयले आगामी दिनमा पनि समुदायको हितका लागि यस्तै कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.