logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारको विद्यालय भवनमा भ्रष्टाचारको गन्ध, स्थानीयले निर्माण ठप्प पारे


    १५ माघ २०८१ , मंगलबार

    मर्चवारको विद्यालय भवनमा भ्रष्टाचारको गन्ध, स्थानीयले निर्माण ठप्प पारे

    मर्चवार, माघ १५ । मर्चवारस्थित श्री मार्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको ४ कोठे विज्ञान भवनमा कमसल सामाग्री प्रयोग गरिएको आरोप स्थानीयले लगाएका छन्। लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको यो भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीय समाजसेवी र अभिभावकहरूले शनिबार निर्माण कार्य ठप्प पारेका हुन्।

    कोटहीमाई–३ का समाजसेवी गुरुवचन यादवले निर्माणमा बालुवा, इँटा र सिमेन्टको गुणस्तर अत्यन्तै कमजोर रहेको बताए। उनले भने, “सरोकारवालाको अनुगमन नगरी निर्माण कम्पनीले आफ्ना स्वार्थ पूरा गर्न गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको छ। हामीले निर्माण स्थलमा पुग्दा कमसल सामाग्री प्रयोग गरेको देख्यौँ, जसका कारण बनेको भित्तो पनि भत्काइएको छ।’’  यादवले यो विषयलाई गम्भीरताका साथ लिँदै भने, “विद्यार्थी र शिक्षकको जीवन जोखिममा राखेर कमसल भवन निर्माण गर्न दिँदैनौँ। गुणस्तर सुनिश्चित नभएसम्म निर्माण कार्य रोक्न बाध्य छौँ।’’

    निर्माणस्थलमा आयोजनाको जानकारी दिने सूचना बोर्ड नै नरहेको पनि यादवले आरोप लगाए। “कुन निकायले बजेट दिएको हो, कति लागतमा निर्माण भइरहेको छ, ठेकेदार को हो भन्ने विवरणसमेत सार्वजनिक गरिएको छैन। यस्तो अपारदर्शी कामले भ्रष्टाचारको गन्ध आउँछ।’’ सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका ईन्जिनियर हरि बिष्टले स्थानीयको गुनासोपछि निर्माण कार्य रोकिएको पुष्टि गरे।

    “कमसल सामाग्री प्रयोग भएको देखिएपछि प्राविधिक टोलीद्वारा ल्याब परीक्षण सुरु गरिएको छ। रिपोर्ट नआउन्जेल निर्माण कार्य बन्द गर्न निर्देशन दिएका छौँ।’’ उनले स्थानीयको माग अनुसार पारदर्शिता कायम गर्न सूचना बोर्ड राख्ने र निर्माण कार्यमा गुणस्तर सुनिश्चित गर्न चाँडै कदम चालिने जानकारी दिए। भवन निर्माणको ठेक्का पाएको रोयल एसके निर्माण सेवाका सञ्चालक फागू कुर्मीले भने गुणस्तरहीन सामग्री प्रयोग नगरेको दाबी गरे। “६/१ को मसालाका आधारमा निर्माण गरिरहेका छौँ। शीतलहरका कारण भित्तो राम्रोसँग नसुकेकोले ढलेको हो। बालुवाको केही समस्या भए पनि सुधार्नेछु।’’ सञ्चालक कुर्मीले सूचना बोर्ड तत्काल राख्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीयको विरोध र निर्माण कार्य रोकिनु शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर पर्ने विषय हो। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै सरोकारवाला निकाय र निर्माण कम्पनीले छिटो निष्कर्ष निकालेर काम अघि बढाउनुपर्नेमा अभिभावकहरूको जोड छ।

    यो विवादले लुम्बिनी प्रदेश सरकारको बजेटबाट भइरहेको विकास निर्माणमा पारदर्शिता र गुणस्तरको कमी प्रस्ट देखाएको छ। ल्याब परीक्षणको नतिजा र सरोकारवाला निकायको कदमले यो समस्या समाधानतर्फ जाने अपेक्षा स्थानीयले गरेका छन्। गुणस्तरहीन सामग्री प्रयोग गरेर भविष्यमा हुने सम्भावित जोखिमलाई रोक्न यस्ता घटनामा सरोकारवाला सबैको कडा निगरानी आवश्यक छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.