भैरहवा, माघ १५ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’ले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन यु.सि.यम.यस., शिक्षण अस्पतालका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा. सन्दिप सुवेदीको सभापतित्वमा गरिएको थियो भने प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्नुभयो।
यो विभागको स्थापना २५ जनवरी २००१ मा भएको हो, र २४ वर्षको अवधिमा यसले मानसिक स्वास्थ्य र नशा नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। विभागले आजसम्म हजारौँ बिरामीलाई उपचार र परामर्श सेवा प्रदान गरेको छ। विशेषतः गत आर्थिक वर्षमा ओपिडी सेवा मार्फत ३३,६४५ जना बिरामीको उपचार गरिएको थियो, जसमा ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला बिरामी थिए। यस्तै, १,०९७ जना बिरामी अस्पतालमा भर्ना भई उपचार गराएका थिए, जसमा २१ देखि ३० वर्ष उमेर समूहका बिरामीहरूको संख्या सबैभन्दा बढी थियो।

कार्यक्रममा, विभागका आवासिय चिकित्सक डा. अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र यसका चुनौतीहरूको बारेमा विचार राख्नुभएको थियो। यस्तै, डा. अनमोल बन्धु कार्कीले विभागको स्थापना, यसका ऐतिहासिक पक्ष र भविष्यका योजनाहरूको बारेमा उपस्थितलाई जानकारी दिनुभएको थियो। विशेषगरी, विभागले हालैमा सञ्चालनमा ल्याएको अत्याधुनिक ई.सि.टी. सेवा र आई.क्यु. परिक्षण सेवा बारे पनि प्रकाश पारिएको थियो।
आगामी दिनमा विभागले बालबालिका र व्यस्कहरूको मानसिक स्वास्थ्य, छारे रोग, लागु औषध नियन्त्रण, र पुनस्र्थापना सम्बन्धी विशिष्ट क्लिनिक सञ्चालन गर्ने योजना बनाएको छ। यसैबीच, अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले विभागको प्रगति सन्तोषजनक रहेको र भविष्यमा यसमा थप लगानी गर्ने कुरा बताउनुभयो।
कार्यक्रममा सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. साधन मुखी, डा. सन्जिव शाह, डा. श्रेया पौडेल लगायत अन्य महत्वपूर्ण व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन डा. कञ्चन गिरी र डा. मोहम्मद नसिम अकरम मिकरानीले संयुक्त रूपमा गर्नुभएको थियो।