रमा पन्थी /लुम्बिनीखबर
भैरहवा, माघ १५ । मायादेवी गाउँपालिकाले पुस्ताबीच संवाद स्थापना गर्न विशेष कार्यक्रमको आयोजना गरेको छ। गाउँपालिकाको सभाहल बरेवामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष नर्वदा देवी उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमले पुस्ता पुस्ताबीचको शारीरिक, मानसिक र सांस्कृतिक भिन्नताबारे छलफल गर्दै सामूहिक समाज निर्माणका लागि सहकार्य गर्न जोड दिएको थियो। शिक्षा शाखा प्रमुख नारायणप्रसाद लामिछानेले नयाँ पुस्ताले परम्परागत सिप सिक्नुपर्ने र पुराना पुस्ताले नयाँ प्रविधि तथा नवपरिवर्तनसँग तालमेल गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे। “पुराना र नयाँ पुस्ताबीचको समन्वयले समाजलाई आधुनिकता र परम्पराको समुचित मिश्रणमा अगाडि बढ्न मद्दत पु¥याउँछ।” लामिछानेले बताए।
कार्यक्रममा ७० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूमा १४ देखि २२ वर्षका युवा पुस्ता र ५५ देखि ८० वर्षका वरिष्ठ नागरिक समावेश थिए। दुई पुस्ताबीच संवाद स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमप्रति सहभागीहरूले खुशी व्यक्त गरे। नेपाल सरकारका पूर्व उपसचिव शुभद्रा गौतमले प्रशिक्षण र सहजीकरण गरेकी थिइन्। ३६ वर्ष सरकारी सेवामा बिताएकी गौतमले यस्ता कार्यक्रमले नयाँ र पुराना पुस्ताबीचको सम्बन्ध सुधार्न महत्वपूर्ण योगदान र्पुयाउने बताइन्। “पुस्ता संवादबाट समाजको सकारात्मक विकास हुने र सामूहिक सुदृढता प्राप्त हुने सम्भावना रहन्छ,” गौतमले भनिन्।
कार्यक्रममा प्रशासन प्रमुख पम्फा पन्थले समाजको सुदृढ विकासलाई प्रोत्साहित गर्न यो कार्यक्रम महत्वपूर्ण भएको बताइन्। महिला, बालबालिका तथा समाजकल्याण इकाइ प्रमुख रमा पौडेलले कार्यक्रमको सञ्चालन र संयोजन गरेकी थिइन्। कार्यक्रमको समापनमा सहभागीहरूले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
