भैरहवा, माघ १६ । सिद्धार्थनगर वडा नं. १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा तीन कोठे नयाँ भवन एक समारोह बीच उद्घाटन भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको सभापतित्व र नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यमा उद्घाटन गरियो।
नगर प्रमुख खानले शिक्षाको विकासलाई प्राथमिकता दिँदै, नगरपालिकाले विद्यालयको शैक्षिक र पूर्वाधार विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “शिक्षाको विकाश बिना कुनै पनि क्षेत्रको प्रगति सम्भव छैन।’’ अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको समग्र प्रगति भौतिक पूर्वाधार मात्र होइन, शैक्षिक गुणस्तर, परीक्षाफलमा सुधार र विद्यार्थी संख्यामा वृद्धि गर्नु आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भीमबहादुर थापा, समाजसेवी सुरेन्द्र जंग थापा र अन्य शिक्षाप्रेमीहरूले शिक्षा क्षेत्रमा रहेका अवसर र चुनौतीका बारेमा विचार राखेका थिए।
यस भवनको निर्माण सिद्धार्थनगर नगरपालिकाको ५४ लाख ७२ हजार ४ सय २१ रुपैयाँको लगानीमा प्रितम विल्डर्सले सम्पन्न गरेको हो। कार्यक्रमको सञ्चालन शिक्षक देवीप्रसाद न्यौपानेले गर्नुभएको थियो।
