अन्जना चौहान/लुम्बिनी
माघ २५ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा विद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै एचपीभी खोपसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। नेपालमा हरेक वर्ष २,१६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने र १,३१३ जनाको मृत्यु हुने तथ्याङ्क सार्वजनिक गरिएको छ।
महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारण बनेको छ। यो रोग यौन सम्पर्कबाट सर्ने भएकाले यसको रोकथामका लागि नेपालभर ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सञ्चालन गरिएको छ।
रुपन्देही जिल्लामा पनि आगामी फागुन १ देखि ६ गतेसम्म यो अभियान सञ्चालन हुनेछ। लुम्बिनी साँस्कृतिक नगरपालिकाका १३ वडामध्ये १२ वडामा खोप कार्यक्रम सञ्चालन हुने छ। यस अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई खोप लगाइने छ भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप लगाइनेछ।
नगर स्वास्थ्य शाखाका प्रमुख धुर्व घिमिरेका अनुसार नगरस्तरीय रूपमा ४,६१८ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ। यसका लागि ४९ विद्यालयमा खोप केन्द्र स्थापना गरिनुका साथै नजिकका स्वास्थ्य संस्थामा पनि खोप सेवा उपलब्ध हुनेछ।
जनस्वास्थ्य निरीक्षक राजेन्द्र चौधरीले एचपीभी खोप किशोरीहरूको लागि प्रभावकारी हुने बताउँदै भने, “यो खोप बाँया तर्फ मासुमा एक पटक मात्र लगाइने हो। खोप लगाउने क्रममा कुनै समस्या देखा परेमा भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको व्यवस्था गरिएको छ।’’ खोप लगाउने क्रममा आकस्मिक अवस्थामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछ। खोपबारे थप जानकारीका लागि निःशुल्क फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने बताइएको छ।
गोष्ठीमा नगरप्रमुख सजरूद्दीन मुसलमान प्रमुख अतिथि रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, विद्यालयका प्रधानाध्यापकहरू, नगर कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रम नगर स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।