logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रुपन्देही प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर, ३०७ जनाले लिए सेवा


    १ फाल्गुन २०८१ , बिहिबार

    रुपन्देही प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर, ३०७ जनाले लिए सेवा

    भैरहवा फागुन १ । रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (भैरहवा मेडिकल कलेज) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३०७ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

    नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष नविना कार्की खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौर, भैरहवा मेडिकल कलेजका प्रशासन संयोजक तथा क्याम्प समन्वयक तेज कुमार के.सी., वरिष्ठ चिकित्सक डा. राहुल यादव, डा. सम्बाद खरेल, डा. प्रसान्त दिवेदी, डा. प्रकाश श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीहरूको टोली सहभागी रहेको थियो।

    शिविरमा प्रहरी कर्मचारी, प्रहरी परिवारका सदस्य, प्रहरी श्रीमति संघका पदाधिकारी तथा पत्रकारहरु गरी ३०७ जनाले सेवा लिएका थिए। शिविरमा रक्तचाप, मधुमेह, नाक–कान–घाँटी, हाडजोर्नी, मुटु रोग, स्त्री रोग तथा नसारोगसम्बन्धी परीक्षण गरिएको थियो।

    सिद्धार्थनगर नगरपालिका वडा नं. १३ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविर बिहानैदेखि सुरु भएर दिउँसो ४ः३० बजे सम्पन्न भएको थियो। सहभागीहरूले स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श र औषधि समेत प्राप्त गरेका थिए।

    नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले प्रहरी परिवारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ। प्रहरी प्रमुख रञ्जित सिंह राठौरले प्रहरी परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

    स्वास्थ्य शिविरमा सहभागीहरूले गुणस्तरीय सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए। आयोजक तथा सहकार्य गरेका संस्थाहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.