परासी, फागुन १ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो परासीले बिहीबार परासी बुद्धचोकमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय निकाय तथा विभिन्न संघ–संस्थाको सहकार्यमा आयोजित यस कार्यक्रममा दुईपांग्रे, चारपांग्रे तथा इ–रिक्साका चालक एवं सहचालकहरूलाई लक्षित गरिएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्य रहेको थियो। नगरप्रमुख यादवले विश्व रेडियो दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नगरभित्र ट्राफिक व्यवस्थापन सुधारका लागि सबै पक्षसँग सहकार्य भइरहेको बताए। साथै, उनले सामुदायिक रेडियो परासीले स्थानीय बासिन्दाको आवाज सम्बन्धित निकायसम्म पुर्याउँदै समाजमा सकारात्मक भूमिका खेलिरहेको उल्लेख गरे।
सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा प्रवद्र्धनका लागि सचेतना अभियान सञ्चालन गरेको जानकारी दिए। उनले २०६५ सालमा स्थापना भएको रेडियो परासीले निरन्तर सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको बताउँदै, आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, जिल्ला ट्राफिक कार्यालयका विक्रमप्रसाद भुसाल, रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन, पाल्ही मध्य नेपाल यातायात प्रालिका सचिव सञ्जु थापा, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, सञ्चारकर्मी मोहन पौडेल, बेनिमाधव बस्याल लगायतको उपस्थिति रहेको थियो।
सामुदायिक रेडियो परासीका स्टेशन म्यानेजर विकास अधिकारीका अनुसार कार्यक्रममा सहभागि वक्ताहरूले सवारी साधनको सुरक्षित प्रयोग, ट्राफिक नियमहरूको पालना तथा सडकमैत्री पूर्वाधार विकासमार्फत मात्रै दुर्घटनाको जोखिम कम गर्न सकिनेमा जोड दिए।
सड़क सुरक्षा प्रवद्र्धनका लागि कार्यक्रमको दौरान ट्राफिक सचेतनासम्बन्धी झन्डै २ हजार स्टिकर वितरण गरिएको थियो।