असलम खान/ मर्चवार
फागुन २९ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा होलीपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा होली मिलन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले सम्बोधन गर्दै भने, “हामी सबै जनप्रतिनिधि तथा कर्मचारी सकारात्मक सोचका साथ अगाडि बढेमा मर्चवारी गाउँपालिकाको समग्र विकास र समृद्धि सम्भव छ।
एउटै उद्देश्यले अघि बढ्न सके विकास अवश्यम्भावी हुन्छ।’’ कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फेकन शाहले पालिकाको कार्य सम्पादनका क्रममा कहीं कमजोरी भएको खण्डमा सुझाव दिन आग्रह गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।
सो अवसरमा उपाध्यक्ष आशा सिंहले मर्चवारीको समुन्नत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै शुभकामना मन्तव्य दिइन्।
कार्यक्रममा गाउँपालिका भित्रका सबै वडाका अध्यक्षहरू, सदस्यहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। मिलन कार्यक्रमले आपसी एकता र समन्वयलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।