पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २९ फाल्गुन । इलाका प्रहरी कार्यालय धकधईले नागरिक सुनवाई २०८१ को सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको वार्षिक कार्यतालिका अनुसार रोहिणी गाउँपालिका वडा नं ३ मा अवस्थित सरस्वती थर्क बहादुर रायमाझी फाउन्डेसन धर्मशालामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो।

नागरिकको गुनासो र प्रहरी कार्य प्रतिको जवाफदेहिताको लागि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ।
रोहिणी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि विद्या प्रसाद यादवले इलाका प्रहरी कार्यालयले हरेक क्षेत्रमा सकारात्मक प्रतिफल दिने कार्य गर्दै आएको जनाउनु भयो। प्रहरीको प्रभावकारी कामले नागरिकलाई भयरहित वातावरणमा आफ्ना काम गर्न सहजता गराएको छ। आगामी दिनमा स्थानीय सरकार आम नागरिकसँग सहकार्य गरी प्रहरीले अझै प्रभावकारी काम गर्नुपर्छ । उनका अनुसार,- “प्रहरीको यस्ता कार्यक्रमले प्रहरीप्रति नागरिकको भरोसा अझै बढ्ने छ।’

कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्व रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले विवाहबारीमा भारतबाट ल्याउने सामग्रीमा सम्बन्धित निकायले सहजता र सहयोग गरिदिनेको लागि आग्रह गर्दै भगवानपुर पारी इ-रिक्साको अव्यवस्थित पार्किङलाई स्थानीय सरकारले व्यवस्थित गर्नको लागि सुझाउनुभयो। इलाका प्रहरी कार्यालय धकधई अन्तर्गत रहेेका विद्यालयहरूमा लागु औषध र ट्राफिक नियम सम्बन्धी सचेतनामुलक प्रशिक्षण गर्नु पर्ने सुझाएका थिए ।
नागरिक सुनवाई कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ईलाका प्रहरी कार्यलय धकधईका प्रहरी निरीक्षक श्याम प्रकाश् यादव ले आम नागरिकलाई शान्ति, सुरक्षा र भयरहित वातावरणमा आफ्नो दैनिकी सञ्चालनमा सहजता तुल्याउने जनाएका थिए। अपराध नियन्त्रण र अपराधिक घटनाको सुक्ष्म अनुसन्धान गरी सफलता प्राप्त गर्न नागरिकको सहायता जरुरी रहेको धकधईका प्रहरी निरीक्षक यादवले बताउनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पूर्व प्रहरी कर्मचारी, सामाजिक अभियन्ता, बुद्धिजीवी, स्वयंसेविका, क्लब, नागरिक समाजका अगुवा, तथा आम सर्वसाधारण गरी लगभग सय भन्दा बढी स्थानियहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।