परासी, चैत १० । विश्व पानी दिवसको अवसरमा, नवलपरासीमा पानीको महत्वलाई भजन किर्तनको माध्यमबाट प्रस्तुत गरिएको छ। राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपालले पानीको महत्व बारे साँस्कृतिक प्रस्तुतिकरण गरेको हो।
कार्यक्रम सुनवल नगरपालिका स्थित सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा शनिबार ९ गते (हिजो) एक कार्यक्रम बीच आयोजना गरिएको थियो। यहाँ उपस्थित जनसमुदायले ‘‘भावी पुस्ताका लागि पानी जोगाऔ, भू–उपयोग र संरक्षण गरौं, वृक्षारोपण गरी ताल तलैया र हिमनदी जोगाऔ’’ भन्ने सन्देश समेटिएका भजन प्रस्तुत गर्नुभयो। यस कार्यक्रमले पानीको महत्व र यसको संरक्षणमा सबैको ध्यानाकर्षण गराएको छ।
कार्यक्रमको आयोजना खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीले गरेको हो, जसमा खानेपानी तथा सरसफाइ कार्यालय परासी, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सुनवल खानेपानी संस्थाले सहकार्य गरेको थियो।
खानेपानी जिल्ला महासंघ नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल) प्रमुख अतिथि थिए। यस अवसरमा खानेपानी सरसफाइ लुम्बिनी प्रदेश महासंघका अध्यक्ष थानप्रसाद गैरे, खानेपानी सरसफाइ कार्यालयका प्रमुख इन्जिनियर प्रकाश न्यौपाने, सुनवल नगरपालिका वडा नं. ४ का अध्यक्ष बालकृष्ण पंगेनी, जिल्ला महासंघका सल्लाहाकार बृहस्पती अधिकारी, स्वास्थ्य कार्यालय नवलपरासीका तथ्याङ्क अधिकृत यवदेव न्यौपाने, सुनवल खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बर्दघाट खानेपानी संस्थाका अध्यक्ष दिपक लम्साल, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम लगायतका प्रमुख व्यक्तित्वहरू उपस्थित थिए।
यस कार्यक्रमले पानीको संरक्षण र यसको महत्वलाई जनचेतनामा ल्याउने प्रयास गरेको छ।