असलम खान
मर्चवार, चैत १० । मर्चवार प्रेस क्लब, रुपन्देहीको पहिलो साधारण सभा तथा अधिवेशन शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा सम्पन्न भएको छ। यस अवसरमा क्लबको अध्यक्षमा हृदयराम गुप्ता पुनः सर्वसम्मत निर्वाचित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले पत्रकारिता क्षेत्रको महत्व र देशमा सुशासन कायम गर्नका लागि यसका योगदानलाई महत्वपूर्ण मान्नु भएको छ। उहाँले इमान्दारीपूर्वक पत्रकारिता गर्दा भ्रष्टाचारविरुद्ध संघर्ष गर्न सकिन्छ र मुलुकमा पारदर्शिता कायम हुने विश्वास व्यक्त गर्दै भने, “पत्रकारिता देशको चौथो अंग हो र यसले समाज र सरकारको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछ। पत्रकारिता कमजोर भएमा देशको स्थितिमा पनि प्रतिकूल असर पर्छ।”
कार्यक्रमका विशिष्ट अतिथि, मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम विकास चौधरीले पत्रकारितामा आवश्यक सुधारको आवश्यकता औंल्याए। उहाँले भने, “छिटो सम्प्रेषण गर्ने नाममा अधुरो जानकारीसहितका समाचारले समाज र पत्रकारितामा नकारात्मक प्रभाव पु¥याउँछन्। त्यसैले समाचार लेखनमा जिम्मेवारी र ध्यान दिनु पर्छ।”
क्लबका अध्यक्ष हृदयराम गुप्ताले पत्रकारिताको मर्यादासँगै पत्रकारहरूको हकहितको संरक्षण गर्न क्लब प्रतिबद्ध रहेको बताएका छन्। उनले ग्रामीण क्षेत्रमा पत्रकारितामा थप सजकता र जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए। साथै, उनले क्लबको लक्ष्य व्यवसायिक पत्रकारिता प्रवद्र्धन र सदस्यहरूको लेखन क्षमतामा सुधार ल्याउनु रहेको बताए।
साधारण सभामा क्लबका कोषाध्यक्ष जैस मोहम्मद खानले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे भने, क्लबका सचिव मोहम्मद असलम खाँले कार्यक्रमको सञ्चालन गरेका थिए।
अध्यक्षमा पुनः हृदयराम गुप्ता निर्वाचित
साधारण सभा तथा अधिवेशनबाट हृदयराम गुप्ता क्लबका अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएका छन्। गुप्ता, जो नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य पनि हुन्, आगामी कार्यकालमा क्लबको नेतृत्व गर्नेछन्। निर्वाचन समिति संयोजक राधेश्याम कुर्मीका अनुसार, क्लबका उपाध्यक्षमा सुमन कुमारी कलवार, सचिवमा मोहम्मद असलम खाँ, सहसचिवमा सीताराम चौधरी र कोषाध्यक्षमा जैस मोहम्मद खाँ निर्वाचित भएका छन्। सदस्यहरूको सूचीमा सुकई कोहार, दीपक कुमार कलवार, अवधेश विश्वकर्मा र दिनेश प्रसाद लोध रहेका छन्।